रुपन्देहीको तिलोत्तमा क्याम्पसले स्नातकोत्तर तहमा एम.वि.ए. कार्यक्रम सञ्चालनमा ल्याएको छ । विज्ञान र व्यवस्थापन विषयमा अब्बल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको तिलोत्तमा क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा एम.वि.ए. कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
क्याम्पसले मास्टर्स इन बिजनेश एडमिन्स्ट्रेशन पठन–पाठन सुरू गर्न लागेको मंगलबार क्याम्पसमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । त्यस अवसरमा कलेजले एम.वि.ए. कार्यक्रमको औपचारिक शुभारम्भ गरेको हो ।
एम.वि.ए. कार्यक्रमको शुभारम्भ गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढकालले रुपन्देहीमा साईन्स क्याम्पस नहुँदा विज्ञान र व्यवस्थापनलाई लक्षित गरेर क्याम्पस सञ्चालन गरिएको बताउँदै स्थानीय आवश्यकता अनुसार लामो समयको प्रयासपछि एम.वि.ए. कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भयो । एम.वि.ए. कार्यक्रम अन्तर्राष्ट्रिय बजारमा समेत अब्बल मानिन्छ । हरेक वर्ष एम.वि.ए. पढ्ने विद्यार्थीको संख्या बढिरहेको र स्थानीय आवश्यकता परिपूर्तिको लागि पनि यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले एमबीए कोर्स सञ्चालन गरेका छन् ।
तिलोत्तमा क्याम्पसका प्राचार्य प्रा.डा. रामचन्द्र आचार्यले आफ्नै देशमा स्रोत र साधनको खोजी गर्न सक्ने क्षमता सहितको उद्यमशिल जनशक्ति उत्पादन गर्न एम.वि.ए. कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भयो । उहाँले वि.वि.ए. कार्यक्रम सुरु गरेको १५ वर्षको प्रयासपछि एम.वि.ए. कार्यक्रम सुरु गर्न लागिएको जानकारी गराउनु भयो ।
२०५३ सालमा स्थापना भएको यो कलेजले २०६६ सालदेखि वि.वि.ए कार्यक्रम सुरु गरेको थियो । त्यस्तै २०५६ सालमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको थियो ।
क्याम्पसमा यहि शैक्षिक सत्रदेखि सुरु गर्न लागिएको एम.वि.ए. कार्यक्रममा सबै विषयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न पाउने छन् । क्याम्पसका प्राचार्य आचार्यका अनुसार एम.वि.ए. कार्यक्रमलाई पूर्णरुपमा अनुसन्धानमा आधारिक बनाइने छ । दुई वर्षे यो कोर्ष पढ्नको लागि ४ लाख ३० हजार रुपैंया शुल्क निर्धारण गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले तिलोत्तमा क्याम्पसले शैक्षिक क्षेत्रमै छुट्टै पहिचान स्थापित गर्न सफल भएको भन्दै एम.वि.ए. कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै प्राध्यापक सन्तोष ज्ञवालीले यो कार्यक्रम विद्यार्थीलाई स्वरोजगार बनाउनका लागि उपयुक्त विकल्प भएको बताउनु भयो ।
तिलोत्तमा क्याम्पसले कक्षा १२ र स्नातक तहमा गरेर प्रति वर्ष करिव ७०० विद्यार्थी उत्पादन गरिरहेको छ । बीबीए कार्यक्रमका लागि कलेजले ४० जनालाई छात्रवृत्तिमा पढाइरहेको कलेजले जनाएको छ ।