बुटवलकाे कालिकानगरमा क्लाउड किचनकाे अवधारणामा ‘अल कैयुम विर्यानी’काे आउटलेट शुभारम्भ गरिएकाे छ ।
अनलाईन अर्डरमा हाेम डेलीवरी गर्दै आएका बुटवलका व्यवसायी अब्दुल कैयुमले बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकानगर कालिकापथ सडकमा ‘अल कैयुम विर्यानी’काे आउटलेट सञ्चालनमा ल्याउनु भएकाे हाे ।
उक्त आउटलेटकाे बुधबार बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल र हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे ।
त्यस अवसरमा बाेल्दै बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष अर्यालले बैंक वित्तिय संस्थाहरुले व्याजका दर घटाउदै आएकाे र नेपाल राष्ट्र बैंकले ल्याएकाे माैद्रिक नीतिमा पनि केही हदसम्म सम्बाेधन गरिएकाेले उद्याेगी व्यवसायीमा केही आशाकाे किरण देखिएकाे बताउनु भयाे ।
त्यसैगरी हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले हाेटल व्यवसायमा लगानी गरेका लगानीकर्ता पलायन भईरहेकाे बताउनु भयाे । उहाँले अहिले बुटवलका व्यवसायीकाे कसैकाे पनि मुहार उज्यालाे नभएकाे बताउँदै आर्थिक गतिबिधिलाई चलायमान गराउन सकिएन भने पर्यटनकाे अभिन्न हाेटल व्यवसाय मात्रै नभएर त्यसमा भएकाे लगानी समेत डुब्ने दावी गर्नुभयाे ।
पेशाले ईञ्जिनियर ‘अल कैयुम विर्यानी’ आउटलेटका सञ्चालक अब्दुल कैयुम ईञ्जिनियरिङ पेशालाई थाती राखेर याे व्यवसायमा हात हाल्नु भएकाे हाे । सन् २०२० देखि नै हाेम डेलीवरी सेवा दिदै आएकाे भएपनि विचमा केही समय राेकिएकाे थियाे । अहिले फेरि ४/५ महिना देखि हाेम डेलिवरी गर्दै आउनु भएका कैयुमले करिव १५ लाख रुपैया लगानीमा आउटलेट सञ्चालन गरिएकाे बताउनु भयाे ।