बुटवलको जुत्ता मेलामा अवरोध : वडाले भन्यो – व्यवसायिक संघसंस्थासंग समन्वय गर्नु

1.3K

बुटवलको जुत्ता मेलामा अवरोध : वडाले भन्यो – व्यवसायिक संघसंस्थासंग समन्वय गर्नु

बुटवलमा सञ्चालन तयारी गरिएको जुत्ता मेलामा स्थानीय व्यापारीले अवरोध गरेपछि वडा कार्यालयले मेला आयोजकलाई व्यवसायिक संघसंस्थासंग समन्वय गरेर मात्रै मेला सञ्चाल गर्न पुनःपत्राचार गरेको छ ।
मेला सञ्चालनको तयारीका क्रममा स्थानीय व्यापारीले अवरोध गरेपछि दुई महिला लामो मेला सञ्चालनको लागि दिईएको अनुमति थाती राखेर बुटवल उपमहानगरपालिका वडा नं. ८ ले स्थानीय व्यवसायिक संघसंस्थासंग समन्वय गरेर मात्रै मेला सञ्चालन गर्न पुनः पत्राचार गरेको हो ।
रुपन्देही व्यापार संघले यसरी बाहिरका उद्योगी व्यवसायीलाई बुटवलमा मेला सञ्चालन गर्न दिँदा स्थानीय व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने जानकारी गराउँदै उक्त मेला बन्द गराउन भन्दै वडामा पत्राचार गरेको थियो । उक्त पत्रका आधारमा वडा कार्यालयले उद्योगी व्यवसायीहरुका छाता संस्था बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, बुटवल उद्योग व्यापार संघ लगायतका व्यवसायिक संस्थासंग समन्वय गरेर मात्रै मेला सञ्चालन गर्न पत्र पठाएको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. ८ ले बुटवल मिलनचोक स्थित डेल्टा एजुकेशन मार्टमा नेपाली लुगा घरलाई भदौ ७ देखि कात्तिक ७ गतेसम्म दुई महिना लामो समय जुक्ताको व्यापार व्यवसाय गर्नेगरी मेला सञ्चालनको लागि अनुमति दिएकोमा यहाँका व्यवसायिक संघसंस्थाले त्यसको विरोध गरेका हुन् ।
बुटवलको आर्थिक अवस्था गिर्दो रहेको र यहाँका व्यवसायीहरु पलायन हुने स्थितीमा बाहिरबाट आएर यहाँ मेला सञ्चालन गर्ने कुरा यहाँका व्यवसायीको हित विपरित रहेको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो ।
शनिबार मात्रै रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघका प्रतिनीधिहरुको बैठक बसेको थियो । उक्त बैठकमा जुत्ता मेलाका नाममा नेपाली मेला पर्वभरी व्यापार गर्ने नीहित स्वार्थ रहेकाले यहाँका व्यापारीको हित विपरित हुने मेला हुन नहुने निश्कर्ष निकालिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
उक्त बैठकमा रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारी, बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारी, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली र उद्योग व्यापार संघका अध्यक्ष विष्णु पाण्डे सहभागि हुनुहुन्थ्यो ।
‘आर्थिक मन्दिको मारमा रहेका यहाँका स्थायी व्यवासायीले त्यहि चाडपर्व पर्खेर बसेका छन् ।’ रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले भन्नुभयो–‘यहाँका स्थायी व्यवसायीलाई विस्थापित गर्ने गरी मेलाका नाममा त्यहि चाडपर्वलाई लक्षित गरेर कुनै व्यक्तिले व्यापार गर्ने कुरा हामीलाई स्वीकार्य छैन ।’
जुत्ता मेला सञ्चालनको लागि नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले वडाबाट स्वीकृति लिनुभएको थियो । नेपाली जुत्ता घरमा रहेका नेपाली उद्योगका जुत्ता विक्रि वितरण गरेवापत स्थान उपलब्ध गराएवापत डेल्डालाई २ महिनाको १ लाख भाडा र सञ्चालक भुसालले विक्रिको १५ प्रतिशत कमिशन लिने सर्तमा मेला सञ्चालनको तयारी गरेको खुलेको छ ।