लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले कामको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई समयै काम पुरा गर्न निर्देशन गर्नुभएको छ । जिम्मा लिने तर, समयमा काम पुरा नगर्ने प्रबृत्तिले समस्या निम्तिएको बताउँदै उहाँले आफूले लिएको जिम्मेवारी समयमै पुरा गर्न निर्देशन गर्नुभएको हो ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सुरु भएको नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटिको दोस्रो अधिवेसनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिहरको समेत जानकारी दिनुभयो । ‘निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पुरा गर्ने कि नगर्ने ? अहिले आयोजनाहरु अलपत्र देखिन्छन्’, उहाँले भन्नुभयो–‘काम पुरा गर्न, भुक्तानी लिन असार किन किर्नुपर्छ ? पहिलेनै काम सम्पन्न गर्न केले रोक्छ ?’
सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन पाँच लाख भन्दा माथीका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेको समेत जानकारी गराउनु भयो । योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकाले निर्माणको कामलाई प्रतिस्पर्धाको माध्यमबाट अघि बढाउन खोजेको उहाँले स्पष्ट पार्नु भयो । ‘साना साना योजनालाइ जोडेर ‘इ टेण्डर’ गर्ने छौं । यसबाट निर्माण व्यवसायीलाई समेत कामको वातावरण बन्नेछ’, उहाँले भन्नुभयो–‘गुणस्तरीय काम गर्ने, त्यसलाई छिटो छरितो समयमा सम्पन्न गर्ने विषयमा यहाँहरुको प्रतिबद्धता चाहिन्छ । सरकारले त्यसका लागि वातावरण बनाउछ ।’
योजना कार्यान्वयन गर्दा सरकारले गत बर्षको दुई अर्ब १३ करोड भुक्तानी दिनुपर्ने जिम्मेवारी थपिएको छ । तर, स्रोत जुटाउने गरी सरकारले पहल लिएको भनाई उहाँको छ । गत बर्ष खानेपानी आयोजनाको लागी ५८ करोड रकम भुक्तानी गरेर विचमा रोकिएका आयोजनालाई गति दिने काम गरेको समेत बताउनु भयो । निर्माण व्यवसायीले गर्ने राम्रो कामलाई नागरिक स्तरबाट मुक्त कण्ठले प्रशंसा गर्ने वातावरण निर्माण गर्न सकिने र त्यसमा ध्यान दिन आग्रह गर्नु भयो ।
नेपाल निर्माण उद्योग परिषद लुम्बिनीका अध्यक्ष टोपबहादुर रायमाझीले सरकारले खरिद नियमावीलाई समयानकुल बनाउनुपर्ने बताउनु भयो । उहाँले व्यवसायी मैत्री खरिद नियमावली बनाईनु पर्ने बताउँदै निर्माण व्यवसायीको कार्यक्षमता बढाउन पनि सरकारले ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।