पाल्पामा हुने भगवती रथ यात्रामा राष्ट्रपति रामचन्द्र पौडेल आउने हुनु भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन बजार परिक्रमा गराइने पाल्पाको भगवती रथ यात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको हो ।
नेपाल–अंग्रेज युद्धमा नुवाकोट जितगढीमा अंग्रेज सेनालाई पराजित गरेको खुसीयालीमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा भगवती जात्रा (भगवती रथयात्रा) निकालिँदै आएको छ । यो वर्ष भाद्र कृष्ण नवमी भदौ ११ गते १०५ औं भगवती रथयात्रा निकाल्न लागिएको हो । सोही दिन राष्ट्रपति पौडेल पाल्पा आउनेहुनु भएको हो ।
भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनका अनुसार रणउजीरेश्वरी भगवतीको पूजा आराधना तथा रथयात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल आउनुहुनेछ । तत्कालीन कर्णेल उजीरसिंह थापा युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा विक्रम सम्वत् १८७७ देखि भगवतीको रथयात्रा निकाल्न सुरु गरिएको थियो ।
कर्णेल उजीरसिंह थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेको ईतिहास छ । उक्त युद्धमा विजय भएपछि १८७२ मा निर्माण सुरु गरी १८७६ मा तीनतले भगवतीको मन्दिर निर्माण पुरा भएको थियो । लगत्तै १८७७ देखि भगवती रथयात्रा निकाल्न सुरु गरिएको ईतिहासका जानकारहरु बताउँछन् । युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको इतिहासमा उल्लेख छ ।

