संविधान दिवसमा लुम्बिनी प्रदेश सरकारले तीन दिन विशेष कार्यक्रम गरि मनाउने भएकाे छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन लुम्बिनी प्रदेश सरकारले तीन दिन सम्म विभिन्न कार्यक्रम गर्न लागेकाे हाे ।
त्यसकाे लागि मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन गरिएको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले संविधान दिवसमा आयोजना गरिने कार्यक्रमहरु स्वीकृत गरेको छ । असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेश भित्र विभिन्न कार्यक्रम आयोजना गरिने भएको हो । जसअनुसार असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाई गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परिक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेभसाईडमा संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा भव्य रुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गर्ने, संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती बिषय विज्ञसंग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसको लागि फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसंग समन्वय गर्ने निर्णय भएको छ ।
आम नागरिकलाई तीन दिन आ-आफ्नो घरको छत, वरण्डामा दीपावली गर्न आह्वान गरिएको छ ।
असोज ३ गते संविधान दिवसको मुल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित विहान प्रभातफेरीको आयोजना गरिने छ । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रशारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गर्ने निर्णय गरिएको छ । यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षरोपण गर्ने निर्णय गरिएको छ ।