रुपन्देहीमा नीजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सामाजिक सुरक्षा कोष सम्बन्धि प्रशिक्षण

1.3K

रुपन्देहीमा नीजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सामाजिक सुरक्षा कोष सम्बन्धि प्रशिक्षण

रुपन्देहीका स्वास्थ्यकर्मीलाई सामाजिक सुरक्षा कोष सम्बन्धि प्रशिक्षण गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रीय समितिको आयोजमा संघका नीजि क्षेत्रका स्वास्थ्यकर्मीलाई कोषका बारेमा जानकारी गराउन प्रशिक्षण गरेको हो ।
सोमबार बुटवलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरे र सामाजिक सुरक्षा कोष बुटवल कार्यालयका प्रमुख खिम कार्कीले सामाजिक सुरक्षा कोष के हो ?, यसमा कसरी सहभागि हुन सकिन्छ ?, यसका फाईदा लगायतका विषयमा प्रशिक्षण गर्नुभएको नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य गोकुल पराजुलीले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठले ट्रेड युनियनहरुको आन्दोलनको बलमा सामाजिक सुरक्षा कोष स्थापना भएपनि विविध कारणले त्यसमा सबैलाई जोड्न नसकिएको बताउनु भयो । उहाँले उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गर्दै त्यसका लागि स्वयम् मजदुरहरुले समेत दवाव दिनुपर्ने भनाई राख्नु भयो ।
त्यसैगरी नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष घिमिरेले कतिपय प्रतिष्ठानहरुमा मालिक र कतिपय प्रतिष्ठानमा स्वयम श्रमिक नै सामाजिक सुरक्षा कोषमा जान नचाहेका कारण उद्देश्य अनुसार अगाडि बढ्न नसकेको भनाई राख्नुभयो ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरीले मजदुर आन्दोलनबाट स्थापित नेपाली काँग्रेस मजदुरहरुको स्थापित अधिकार कार्यान्वयन गर्ने विषयमा प्रतिवद्ध रहेको भनाई राख्नुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकालले नीजि क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषका विषयमा अझै पनि प्रयाप्त जानकारी नभएका कारण स्थापित अधिकार प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकिएको बताउँदै यस्ता प्रशिक्षणका कार्यक्रमले स्वयम श्रमिकलाई जागरुक बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय उपमहासचिव नेत्रबहादुर राना, प्रदेश अध्यक्ष नमनारायण वेलवासे, रुपन्देही जिल्ला अध्यक्ष घनलाल अर्याल लगायत संघका सदस्यहरुको सहभागिता रहेको थियो ।