मधेसी मोर्चाका माग सम्बोधन भयो – रावल

305

मधेसी मोर्चाका माग सम्बोधन भयो – रावल

raaबुटवल,  माघ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसी मोर्चाले राखेका माग पूरा भएको बताउनुभएको छ ।
उहाँले संविधान संशोधनबाट जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र तथा समानुपातिक समावेशी सिद्धान्तका माग पूरा भएको समेत बताउनुभयो । अरु जायज माग पनि वार्ता र छलफलबाटै पूरा गर्नेतर्फ सरकार गम्भीर भएर लागेको बताउँदै रक्षामन्त्री रावलले भूकम्पले थिलोथिलो भएको मुलुक र पीडित नेपालीलाई अरु धेरै मर्कामा नपार्न आन्दोलनरत मधेसी दललाई आग्रह गर्नुभयो ।
रुपन्देही व्यापार सङ्घको चौधौँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै रक्षामन्त्री रावलले विद्यमान समस्या समाधानका लागि सरकार गम्भीरताका साथ लचिलो भएर प्रस्तुत भएको र मोर्चाबाट पनि त्यस्तै भूमिकाको अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुक अफ्ठ्यारोमा परेको बेलामा असली शुभेच्छुक र इमान्दार देशप्रेमीको पहिचान हुन्छ ।”
वर्तमान अवस्थामा जनताले देखाएको सद्भाव, सहनशीलता, धैर्यता र अनुशासन स्वागतयोग्य रहेको उल्लेख गर्दै मन्त्री रावलले कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याएर जनतामा राहतको अनुभूति गराउन जरुरी रहेको बताउनुभयो । नब्बे प्रतिशत समझदारीमा आएको संविधानलाई हतारको दस्तावेजको रुपमा लिनु मूर्खता भएको टिप्पणी गर्दै मन्त्री रावलले जनपक्षीय संविधानको विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो ।