अव जन्मनासाथ बालबालिकाको प्रमुख चार स्वास्थ्य समस्या परीक्षण गरिने

1.3K

अव जन्मनासाथ बालबालिकाको प्रमुख चार स्वास्थ्य समस्या परीक्षण गरिने

अव नेपालमा जन्मनासाथ बालबालिकाको प्रमुख चार स्वास्थ्य समस्याहरुको परीक्षण हुने भएको छ । नेपालका प्रसूतिसेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको अनिवार्य चार प्रमुख स्वास्थ्य समस्या परीक्षण हुने भएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपांगतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गर्नुभएको हो ।
जन्मनासाथ थाहा पाउन सकिएमा बालबालिकालाई अपांगतासहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ रगतबाट थाईरोईड, सुन्ने तथा आँखाको दृष्टि र बालबालिकाको जण्डिससम्बन्धी परीक्षण गर्ने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
निर्णयसँगै विशिष्टीकृत मातृशिशु अस्पताल परोपकार अस्पताल, कान्ति बाल अस्पतालसहितका प्रसूति र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको परीक्षण हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपांगता तथा प्रमुख स्वास्थ्य समस्याको निदान थालिने बताउनु भएको थियो । विश्वमा ६ प्रतिशत बालबालिकामा जम्नासाथ अपांगताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनहरुले देखाएका छन् ।