लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक विदेशी सहित २८९ विद्यार्थी दीक्षित हुँदै

1.3K

लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक विदेशी सहित २८९ विद्यार्थी दीक्षित हुँदै

लुम्बिनी बौद्ध विश्वविद्यालयमा २८९ विद्यार्थी दिक्षित हुँदैछन् । विश्वविद्यालयमा अध्ययन गरेर कोर्ष पुरा गरेका १ विदेशी सहित २८९ विद्यार्थीलाई विश्वविद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा दिक्षित गर्न लागिएको विश्वविद्यालयले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
जसमा मास्टर्स पुरा गरेका वेलायतका एकजना विदेशी नागरिक हुन् । त्यस बाहेक मास्टर्स पुरा गरेका १८६, व्याचलरका ८८, विएचडिका ७ र पिजिटिका ८ जना विद्यार्थीलाई दिक्षित गर्न लागिएको हो । लुम्बिनी विश्वविद्यालयमा ६८ जना विदेशी सहित २ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा यहि मंसिर १४ गते तेस्रो दिक्षान्त समारोह आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओली, उपप्रधानमन्त्री द्वय प्रकाशमान सिंह र विष्णु पौडेल लगायतका मन्त्रीहरु तथा स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाका विच उनीहरुलाई दिक्षित गर्न लागिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले जानकारी गराउनु भयो ।
त्यसै अवसरमा विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गर्न लागेको छ । बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवद्र्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरिने रजिस्टार तिलकराम आचार्यले जानकारी गराउनु भयो । उहाँका अनुसार दिक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ ।
विश्वविद्यालयले वार्षिकोत्सवको अवसरमा यहि भोली मंसिर १३ गते बुटवल सिटी क्याम्पसमा रक्तदान कार्यक्रम र १५ गते ‘शान्ति निर्माण र दिगो विकासका लागि गौतमबुद्धका शिक्षाहरु अन्वेषण’ विषयक अन्तर्राष्ट्रिय सेमिनार तथा १६ गते देवदहमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिताको तयारी गरेको छ ।
शान्तिका अग्रदुत गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रुपमा स्वीकार एवं अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न, शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिसहित अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्थाहरु सञ्चालन गर्न २०६१ साल मंसिर १४ गते विश्वविद्यालयको स्थापना भएको थियो । २०८० देखि ०९० को दशकलाई ‘अवको दशक, प्राज्ञिक र सृजनात्मक’ नारासहित विश्वविद्यालयले प्राज्ञिक कार्यलाई अगाडि बढाएको छ ।
लुम्बिनी, बुटवल र देवदहमा विश्वविद्यालयका आंगिक क्याम्पस सहित दाङ, काठमाण्डौ र दोलखामा सहकार्य एवं सम्बन्धन प्राप्त १३ वटा क्याम्पसमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।