लुम्बिनी बाणिज्य क्याम्पसको आयोजनामा भोली र पर्सी बुटवलमा चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुँदैछ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुई दिने इन्टरनेशनल कन्फ्रेन्स अन ग्लोबल इनोभेसन इन म्यानेजमेन्ट एण्ड सोसल साइन्स (प्रज्ञानम् ब्रह्म–०४) को उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल शुक्रबार उद्घाटन गर्नुहुनेछ ।
क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायका अनुसार प्राध्यापकहरुले उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न ज्ञान र सीपलाई वृत्ति विकाससँग जोड्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च शैक्षिक समन्वय बढाउन कन्फ्रेन्स गर्न लागिएको हो ।
कन्फ्रेन्समा नेपालसहित भारत, पाकिस्तान, चीन थाइल्याण्ड, मलेसिया लगायतका विभिन्न विश्व विद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता र सरकारी तथा गैरसरकारी अध्यताहरुले अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्ने छन् । कन्फ्रेन्समा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. डिल्लीराज शर्मासहित भारत, चिन, मलेसिया, थाइल्याण्डका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु प्रमुख वक्ताको रुपमा रहनु भएको छ ।
विदेशी पाहुनाहरु कतिपय आईसकेको र कतिपय भोली शुक्रबार विहानसम्म आउने तालिका रहेको प्राध्यापक गोपाल पाण्डेले जानकारी गराउनु भयो । त्यसबाहेक सरकारी तथा गैरसरकारी संस्थाका अनुसन्धानकर्ता समेत गरी १२० जनाभन्दा बढी अनुसन्धानकर्ताले अनुसन्धान पत्र प्रस्तुत गर्नेछन् ।