रुपन्देही उद्योग संघको स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको छ । संघको ४७ औं स्थापना दिवसको अवसरमा शुक्रबार संघमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी कार्यसमिति सदस्य तथा साधारण सदस्य समेत गरी ५५ जनाले रक्तदान गरेको संघले जनाएको छ ।
त्यस अवसरमा संघको पूर्वअध्यक्ष दिनेशराज रेग्मीले सामाजिक उत्तरदायित्व बहन गरि संघले रक्तदान गरेर उद्योगीको शिर उँचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउँदै समाजमा स्थापित भएर अगाडि बढ्न धेरै चुनौतीहरु रहेको उल्लेख गर्दै समाज प्रतिको दायित्वलाई कहिल्यै विर्सन नहुने धारणा राख्नु भएको थियो ।
कार्यक्रम संघकी सचिव मन्जु भुसालको संचालन, कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक राजु घिमिरेको स्वागतमा भएको थियो ।