बुटवलमा सामुदायिक कुकुर व्यवस्थापनका लागि बध्याकरण सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाले यो अभियान सुरु गरेको हो ।
सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कुकुरको टोकाईबाट हुने रेविज नियन्त्रण, कुकरको संख्या नियन्त्रण र सरसफाईका दृष्टिकोणले बुटवल उपमहानगरपालिकाले अघिल्लो वर्षदेखि सामुदायिक कुकुर व्यवस्थापनको लागि बन्ध्याकरण कार्यक्रम सुरु गरिएको बताउनु भयो । यो वर्ष बुटवल उपमहानगरपालिकाले ३ सय कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य लिएको छ ।
नगरपालिकाले बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर स्थित नया भवनमा कुकुरको बन्ध्याकरण सुरु गरेको हो । यो कार्यक्रम रुपन्देहीको सिद्धार्थनगर नगरपालिका मेउडियामा रहेको वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा नामक संस्थाले सहकार्य गरेको छ ।
बुटवल उपमहानगरपालिकाका पशु चिकित्सक झविन्द्र वञ्जाडेले नगरमा बढीरहेको कुकुरको संख्या नियन्त्रण गरि कुकुरको टोकाईबाट हुने जोखिम न्यूनिकरणका लागि सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरिएको बताउनु भयो । उहाँका अनुसार शुक्रबारदेखि ६ दिनसम्म यो कार्यक्रम सञ्चालन हुनेछ ।
त्यसैगरी नगर क्षेत्रका सडकमा भेटिएका कुकुरलाई बन्ध्याकरण केन्द्रमा ल्याईनेछ भने त्यसको २४ घण्टा पछि मात्रै सुसुप्त (बेहोस) बनाएर अप्रेसन गरी बन्ध्याकरण गरिने पशु चिकित्सक बञ्जाडेले जानकारी गराउनु भयो । कुकुरको बन्ध्याकरण गर्दा भाले कुकुरको अण्डकोष र पोथी कुकुरको पाठेघर निकालिन्छ । पोथी कुकुरको बन्ध्याकरण गरेको पहिचानको लागि संकेत राखिने पनि उहाँले जानकारी गराउनु भयो । भाले कुकुरको अण्डकोष निकाल्ने भएकाले भाले कुकुरको भने स्वतः पहिचान हुन्छ ।