गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले कलेजो क्यान्सर ग्रसित खिमबहादुर विक र पाठेघरको क्यान्सर ग्रसित गुमा विष्टको उपचारको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
आफ्नै जीवनसंगिनी मनाकुमारी कुवँरको निधनले दुःखमा रहनुभएका पालिका अध्यक्ष कुवँरले आफ्नो दुःखलाई थाती राखेर पालिकाबासीको दुःखमा हातेमालो गर्नुभएको हो । अध्यक्ष कुवँरको गत कात्तिक १८ गते जीवन संगिनी मनाकुमारी कुवँरको निधन भएको थियो ।
पालिका अध्यक्ष कुवँरले मदाने गाउँपालिका वडा नं. १ अग्लुङका कलेजो क्यान्सरबाट ग्रसित ५१ वर्षीय खिमबहादुर विकको उपचारको लागि २० हजार रुपैंया र सोही वडाका निपाने निवासी पाठेघरको क्यान्सरबाट ग्रसित चुरामान विष्टकी श्रीमती ५२ वर्षीया गुमा विष्टको उपचारको लागि २२ हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको हो । क्यान्सरबाट ग्रसित दुबैजनालाई पालिका अध्यक्ष कुवँरले घरमै पुगेर उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
नेपाली काँग्रेसका पालिका सभापति समेत रहनुभएका कुवँरले आफू गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकम सिधै पार्टीको खातामा जानेगरी व्यवस्था मिलाउनु भएको छ भने त्यसरी पार्टीको खातामा आएको रकम पार्टी समितिको निर्णयमा खर्च गर्ने गरिएको उहाँले बताउनु भयो । सोही अनुसार पार्टी समितिको निर्णयमा क्यान्सर रोगबाट ग्रसित दुबैजनालाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको हो ।