गुल्मीको मदाने गाउँपालिकाका विद्यालयमा शिक्षाको गुणस्तर बृद्धिको लागि स्मार्ट बोर्ड कार्यक्रम सुरु गरिएको छ । विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर बृद्धिका लागि पालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार स्मार्ट बोर्ड कार्यक्रम सुरु गरिएको हो ।
जस अन्तरगत वडा नं. ७ मा रहेको टिमुरखर्क आधारभूत विद्यालयमा स्मार्ट बोड उद्घाटन गरिएको छ । उक्त विद्यालयमा शनिबार आयोजना गरिएको विशेष कार्यक्रममा गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले यो कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कुवँरले गाउँपालिकामा शिक्षाको गुणस्तर बृद्धिका लागि स्मार्ट बोर्ड कार्यक्रम ल्याईएको र टिमुरखर्क आधारभूत विद्यालयबाट कार्यक्रम सुरु गरिएको बताउँदै क्रमशः अरु विद्यालयमा पनि कार्यक्रम लागु गरिने जानकारी गराउनु भयो ।
त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष सरीता खड्काले ग्रामिण विद्यालयमा शिक्षाको गुणस्तर बढाउन सकियो भने बालबालिकालाई गाउँमै पठनपाठन गर्ने राम्रो वातावरण बनाउन सकिने भनाई राख्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थी, वडा नं. ७ का वडा अध्यक्ष सन्तोष केसी, पालिकाका शिक्षा शाखा प्रमुख नारायण पन्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीबहादुर बोहोरा लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरुको उपस्थितीमा स्मार्ट बोर्ड उद्घाटन गरिएको हो ।