विराटनगरमा दुईतले बसपार्क निर्माण हुने

698

विराटनगरमा दुईतले बसपार्क निर्माण हुने

bus विराटनगर/विराटनगर उपमहानगरपालिकाले अत्याधुनिक सुविधासहितको दुईतले बसपार्क निर्माणको योजना अघि सारेको छ । विराटनगर उपमहानगरपालिका– १५ मा रहेको बसपार्कलाई व्यवस्थित बनाउन यस्तो योजना अघि सारिएको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीकाअनुसार नगर विकास कोषसँग ऋण लिएर बसपार्क निर्माण बनाउने गुरुयोजना तयार गरिएको छ । “निर्माणका लागि नगर विकास कोषसँग सम्झौता गर्ने तयारी भइरहेको छ” उहाँले भन्नुभयो ।
कोषको ९० प्रतिशत लगानी रहने बसपार्क निर्माणमा नेपाल सरकारले साढे ७ प्रतिशत र उपमहानगरपालिकाले साढे दुई प्रतिशत रकम लगानी गर्नुपर्ने गुरुयोजनामा उल्लेख गरिएको छ । उपमहानगरपालिकाका ईन्जिनियर अर्जुन थापाकाअनुसार ३१ कठ्ठा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, मजदुर, कर्मचारी बस्ने व्यवस्था गरिने छ । पहिलो तलामा रेस्टुराँ, ब्यागेज रुम राख्ने योजना छ । पुरै बसपार्क क्षेत्रमा कालोपत्रे गरिने र भित्रै वर्कसप, बिजुलीबाट गाडी धुनेजस्ता सुविधा उपलब्ध गराउन लागिएको छ ।
रु १४ करोड ११ लाख ५५ हजारको लागतमा निर्माण हुने सो बसपार्क २७ वटा बस र २८ वटा माइक्रो बस अटाउने बनाउन लागिएको हो । सामान्य वर्षा हुँदा समेत विराटनगर बसपार्क डुबानमा पर्ने गरेको छ । रासस