कांग्रेस महाधिवेशनमा होमियो, रुपन्देहीमा दुई पक्षकै उमेद्वारीको चर्चा

435

कांग्रेस महाधिवेशनमा होमियो, रुपन्देहीमा दुई पक्षकै उमेद्वारीको चर्चा

13th-congress.png.pngबुटवल/ नेपाली कांग्रेसको १३ महाधिवेशन नजिकिंदै गर्दा सिंगो नेपाली कांग्रेस गाउँ तथा नगर अधिवेशनमा होमिएको छ । फूटेको नेपाली कांग्रेस एकिकरण भएपछि ६०÷४० मा बिभाजित भएको पार्टीमा अहिले पनि नेता कार्यकर्ताहरु गुट उपगुटबाट बिमुख भने हुन सकेका छैनन् । कुन गुटमा लाग्यो भने आफू सुरक्षित हुन सकिन्छ ? त्यो गुटलाई पछ्याउने तथा आफूलाई कुनै खेमाको ट्याग लगाएर भएपनि आफू सुरक्षित हुने दाउमा छन् भने त्यसैको वरिपरि रहेर पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु रुमलिएका छन् ।
नेपाली कांग्रेसको यहि माघ १५ गते गाउँ तथा नगरका वडा अधिवेशन हुँदैछ भने १६ गते नगर, २२ गते क्षेत्रीय अधिवेशन र २५ गते जिल्ला अधिवेशन हुँदैछ । नेपालमा बलियो लोकतान्त्रिक शक्तिको छवी बनाएको नेपाली कांग्रेसमा बहालवाला केन्द्रिय सदस्य र जिल्ला सभापति बाहेकले केन्द्रीय नेतृत्व लिनकालागि पनि गाउँ तहबाट निर्वाचित हुँदै आउनु पर्ने बिधानमा व्यबस्था छ । गाउँ तथा नगर वडा अधिवेशनले कार्यसमिति तथा क्षेत्रीय प्रतिनीधि चुन्नेछन् । क्षेत्रीय प्रतिनीधिले भने क्षेत्रीय अधिवेशन मार्फत क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनीधि र महासमिति सदस्य चुन्नेछन् । महाधिवेशन प्रतिनीधिले केन्दीय महाधिवेशनमा भाग लिन पाउनेछन ।
पार्टीको १३ औं महाधिवेशनबाट गाउँ, नगरका वार्ड तथा नगर र क्षेत्रमा नेतृत्व लिनकालागि नेता कार्यकर्ताहरुमा यतिबेला होड चलेको छ । पार्टी एकिकरण भएपनि मन एकिकरण हुन नसकेको नेपाली कांग्रेसको एकाध बाहेक अधिकांश स्थानमा संस्थापन र प्रजातान्त्रिक पक्षकैबीचमा प्रतिस्पर्धा देखिएको छ ।
पार्टीका हिसावले मात्रै नभई औद्योगिक, व्यापारिक, शैक्षिक हरेक हिसावले पनि रुपन्देहीको बुटवल चलायमान शहर हो । बुटवल उपमहानगरपालिकामा नगर समितिको नेतृत्वकालागि तीन जनाको चर्चा छ । बर्तमान नगरसभापति खेलराज पाण्डे, नगर सचिव प्रजापाल गिरी र नगर सदस्य जमुना ढकाल बुटवल नगर सभापतिको चर्चामा हुनुहुन्छ । पाण्डे संस्थापन पक्षका हुनुहुन्छ भने ढकाल प्रजातान्त्रिक खेमाकी हुनुहुन्छ । युवाको बीचबाट उदाएका बहालवाला सचिव गिरी बिचको लाईनमा देखिएपनि अन्तिम सम्ममा प्रजातान्त्रिक खेमाले सपोर्ट गर्नसक्ने प्रजातान्त्रिक खेमाकै बलिया व्यक्तिहरुले विश्लेषण गर्दछन् ।
त्यस्तै रुपन्देहीको बुटवलसंगै जोडिएको र जनसंख्याको हिसावले पनि ठूलो तथा नयाँ नगरपालिका तिलोत्तमा नगरपालिकामा आधादर्जन बढीले नगरसभापतिमा महत्वकाँक्षा देखाएका छन । स्रोतका अनुसार नेताहरु शरद भट्टराई, कृष्णबहादुर गौतम, हेमराज अर्याल, हरि न्यौपाने, चुरामणी भट्टराई, हरिलाल पाण्डेलगायतका नेताहरुले ईच्छा जाहेर गरेको स्रोतले बतायो ।
रुपन्देहीको अर्को नयाँ नगरपालिका सैनामैना नगरपालिकामा पछि ६ जनाले ईच्छा जाहेर गरेका छन् । साविकको पर्रोहा र दुधराक्ष नगरपालिका मिलेर बनेको सैनामैना नगरपालिकामा साविक पर्रोहाबाट रामप्रसाद अधिकारी, राजबहादुर क्षेत्री र लोकनाथ अधिकारी तथा साविकको दुधराक्ष गाबिसबाट नारायण खनाल, कृष्ण पोखरेल र रघुनाथ घिमिरेले उमेद्वारी घोषणा गरि मत माग्दै हिडेका छन् ।
त्यस्तै देवदह नगरपालिकामा पनि नगर सभापति पदमा गुणखर भुर्तेल, ताराप्रसाद पराजुली, अनिशअलि थकिर, डिल्लीराज मरासीनि, विश्वेश्वर आचार्य लगायतका नेताहरुको चर्चा छ ।
त्यस्तै जिल्लाकै पुरानो नगरपालिका सिद्धार्थनगर नगरपालिकामा ४ जनाको नाम चर्चामा छ । सिद्धार्थनगर नगर समितिको सभापति पदमा दिलिप धिताल, गोपाल राजभण्डारी, तिलक ज्ञवाली र बिष्णु थापाको नाम चर्चामा सुनिएको छ ।
रुपन्देहीको बुटवल नगरपालिका समेत रहेको क्षेत्र नं. ४ मा पाँच जनाको नाममा चर्चामा छ । वर्तमान सभापति हरिबहादुर आचार्य, हरिलम्साल, बालकुमारी भण्डारी, वर्तमान सचिव काजिमान श्रेष्ठ र गोबिन्द्र लम्सालको नाम चर्चामा छ । हरिबहादुर आचार्य देउवा क्याम्का एक्ला उमेद्वार हुनुहुन्छ भने बाँकी हरि लम्साल, बालकुमारी भण्डारी, काजिमान श्रेष्ठ र गोबिन्द लम्साल संस्थापन क्याम्पका हुनुहुन्छ । संस्थापन पक्षले पनि ४ जनालाई मिलाएर एक जना मात्रै उमेद्वार बनाउने गृहकार्य भईरहेको एक नेताले बताउनु भयो ।
केन्द्र र जिल्ला नेतृत्व लिनकालागि नेताहरुले आ–आफ्नो पक्षमा मतदान गर्ने कार्यकर्ताहरुलाई क्षेत्रीय प्रतिनीधि र महाधिवेशन प्रतिनीधि ल्याउन दौडधुपमा लागेका छन । नेताहरु केन्द्रमा संस्थापन र देउवा क्याम्पमा मतदान गर्ने क्याम्प बलियो बनाउन लागिपरेका छन भने जिल्ला नेतृत्व लिनकालागि पनि नेताहरु आफू अनुकुलको व्यक्तिलाई ल्याउने चलखेल बढको हो । रुपन्देहीमा अहिले वर्तमान सभापति अब्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल, बर्तमान सचिव रामकृष्ण खाँण, पुराना नेता शोमनाथ शर्मा, महासमिति सदस्यहरु थानेश्वर घिमिरे, युवराज गिरीलगायतका नेताहरुको चर्चा छ । महाधिवेशनको रौनक हेरेर अन्तिममा देउवा क्याम्पबाट पुन रज्जाक र संस्थापनबाट ढकालकोबीचमा प्रतिस्पर्धा हुन सक्ने कतिपयको विश्लेषण छ । यस बाहेक पनि कतिपय पुराना नेताहरुले महासमिति सदस्यको माहौल हेरेर जिल्ला सभापतिमा उमेद्वारी घोषणा गर्न सक्ने बताएका छन ।