गुल्मीको मदाने गाउँपालिकाले पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने

1.3K

गुल्मीको मदाने गाउँपालिकाले पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने

गुल्मीको मदाने गाउँपालिकाले पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । पालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबीच पालिकाबासीलाई रगतमा लाग्ने सेवा शुल्क निःशुल्क गराउने सम्झौता भएको हो ।
बिहिबार मदान गाउपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही बिच रक्तसञ्चार सेवा केन्द्र बुटवल र भैरहवाले रगतमा लाग्ने सेवा शुल्क निःशुल्क उपलब्ध गराउने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले जानकारी गराउनु भयो ।
गाउँपालिकाका बासिन्दाको रगत अभावका कारण स्वास्थ्यमा हुने जोखिम न्यूनीकरणका लागि पालिकाले रेडक्रससँग सम्झौता गरिएको उहाँले बताउनु भयो । पछिल्लो समयमा रगतको अभावका कारण धेरै मानिसले ज्यान गुमाइरहेको बताउँदै त्यसबाट पालिकावासी नागरिकलाई बचाउनका लागि गाउँपालिकाले यो कार्यको सुरुवात गरेको हो ।
गाउँपालिकाको कार्यालय पुर्कोटदहमा भएको सम्झौता कार्यक्रममा गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष कुँवर र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्रका संयोजक मित्रलाल न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । यो सम्झौताको अवधि २०८३ असार मसान्तसम्म रहने छ । प्रत्येक बिरामीलाई प्रति युनिट रगत उपलब्ध गराए बापत रक्तसञ्चार सेवा केन्द्रलाई गाउँपालिकाले ९५० रुपैयाँ रकम भुक्तानी गर्नेछ ।
गाउँपालिका उपाध्यक्ष सरिता खड्काले गाउँपालिकाले पालिकावासी नागरिकलाई रगतको अभावको कारण अकालमा ज्यान गुमाउन नपरोस् भनी सम्झौता गरिएको बताउनु भयो । उहाँले यस अभियानबाट समग्र मदानेवासी नागरिक लाभान्वित हुने र आगामी दिनमा कसैले रगत अभावका कारण ज्यान गुमाउन नपर्ने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्र बुटवलले रुपन्देही आसपासका ३० वटा स्थानीय तहसँग सम्झौता गरी सेवा प्रवाह गर्दै आएको छ । हाल रुपन्देही शाखामा विभिन्न संघ संस्थासँगको सम्झौता र सहकार्यको माध्यमबाट रगतको संकलन गरिएको रक्तसञ्चार सेवा केन्द्रले जनाएको छ ।
रगतको अभाव हुन नदिन र सहज उपलब्ध गराउनको लागि गाउँपालिकाले रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा हरेक वर्षमा पालो मिलाएर दुईवटा वडामा रक्त संकलन शिविर सञ्चालन गरिने मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनु भयो । मदाने गाउँपालिका भित्र बसोबास गर्दै आएका वा बुटवल र भैरहवा बस्दै आएका नागरिकले पनि आवश्यक परेका बिरामीले सेवा लिन सक्ने प्रशासकीय अधिकृत पन्थीले बताउनु भयो ।
यो सेवा लिनको लागि मदाने गाउँपालिकाको बासिन्दा भएको प्रमाणित हुने कागजात (नागरिकता, मतदाता परिचयपत्र, परिचय पत्र, चालक अनुमति पत्र) वा मदानेवासी नागरिकको पहिचान खुल्ने कागजात उपलब्ध गराएमा शाखाबाट निःशुल्क रूपमा रगत लिन सकिने छ ।