राष्ट्रिय मेलमिलाप दिवसमा वी.पी. अध्ययन प्रतिष्ठानको साधारण सभा

1.3K

राष्ट्रिय मेलमिलाप दिवसमा वी.पी. अध्ययन प्रतिष्ठानको साधारण सभा

राष्ट्रिय मेलमिलाप दिवसमा वी.पी. अध्ययन प्रतिष्ठानको साधारण सभा सम्पन्न भएको छ । बुटवल दीपनगर स्थित वी.पी. अध्ययन प्रतिष्ठानको भवनमा मंगलबार सातौं साधारण सभा गरिएको हो ।
साधारण सभामा प्रतिष्ठानका अध्यक्ष युवराज गिरीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष अर्जुन ढकालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको सचिव खिमानन्द भट्टराईले जानकारी गराउनु भयो ।
भारतमा निर्वासित जीवन विताईरहेका नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोईराला विश्व राजनीतिमा देखिएको प्रभावले देशको राष्ट्रिय अस्तित्व संकटमा पर्ने अवस्था आएपछि २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति सहित स्वदेश फर्किनु भएको थियो । त्यसैको सम्झनामा हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आइएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले देशको राष्ट्रिय अस्तित्व रक्षाका लागि आफ्नो ज्यानको बाजी लगाएर वीपीले लिएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति देशको अस्तित्व रक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेय वीपीले हिजो विश्व राजनीतिको शंकास्पद गतिविधिले देश बचाउन मेलमिलपको नीति लिएजस्तै आज पनि राजनितिक शक्तिहरु विच राष्ट्रिय एकता र मेलमिलाप आवश्यक रहेको भनाई राख्नुभयो । उहाँले बुटवल उपमहानगरपालिकाले सबै राजनितिक दलहरुको सम्मान र सहअस्तित्व कायम हुने र देखिनेगरी कार्यक्रम ल्याएको पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य बालकुमारी भण्डारी, बुटवल हिलपार्क परिषदका अध्यक्ष टंकप्रसाद पराजुली, जीवराज आश्रीत अध्ययन प्रतिष्ठानकी महासचिव विष्णु केसी, शिवनगर सामुदायिक बनका पुर्व अध्यक्ष नारायण बहादुर घिमिरे, वी.पी. अध्ययन प्रतिष्ठानका उपाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, अर्का उपाध्यक्ष लक्ष्मण आचार्य क्षेत्री लगायतले भनाई राख्नुभएको थियो ।