चिकित्सक संघद्वारा दौड प्रतियोगिताको तयारी

1.3K

चिकित्सक संघद्वारा दौड प्रतियोगिताको तयारी

नेपाल चिकित्सक संघ लुम्बिनीले शनिबार बुटवलमा दौड प्रतियोगिता गर्ने भएको छ । स्वस्थ्य सचेतना जगाउदै रुपन्देही भित्रका ब्यवसायिक र सामाजिक संघसंस्थाहरु बिचमा भाईचारा विकास गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको शुक्रबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. कृष्ण खरेलले जानकारी गराउनु भयो ।
उहाँका अनुसार प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ । व्यायाम तथा खेलकुद शारीरिक स्वास्थ्यसंगै मानसिक सन्तुलन र दीर्घायु जीवनका लागि पनि अत्यन्त महत्वपूर्ण छ भन्ने कुरा आम नागरिकमा सचेतना जगाउने गरि दौड प्रतियोगिता गर्न लागिएको उहाँले बताउनु भयो ।
दौड प्रतियोगिता बुटवलको कालिकानगर पृथ्वीनारायण शाह पथबाट शुरु हुने छ । त्यसैगरी तिलोत्तमा नगरपालिका मंगलापुर स्थित साईनो केन्द्रमा समापन हुनेछ ।
संघले हरेक वर्ष चिकित्सकहरूबीच भाइचारा र ज्ञान आदानप्रदानलाई प्रवद्र्धन गर्न कार्यक्रम गर्दै आएको थियो । यो पटक अन्य व्यवसायिक तथा सामाजिक संघसंस्थाहरुबिच सम्बन्ध विस्तार गर्ने र स्वास्थ्य, खेलकुद र संस्कृति संरक्षणको अभियानलाई जोडेर कार्यक्रम गर्न लागिएको अध्यक्ष डा. खरेलले बताउनु भयो । प्रतियोगितामा भाग लिनका लागि व्यवसायिक वा सामाजिक संस्थाको सदस्य भएको हुनुपर्नेछ ।

महिला पुरुषलाई एउटै समुह प्रतियोगिता गराईएपनि पुरस्कार भने महिला पुरुषलाई छुट्टाछुट्टै प्रदान गरिने छ । प्रतियोगितामा भाग लिनको लागि आज (शुक्रबार) साँझ ५ बजेसम्म नाम दर्ता गराउनु पर्ने संघका महासचिव डा. प्रकाश बस्नेतले बताउनु भयो ।
प्रतियोगितामा महिला तथा पुरुष दुबै समुहबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैंया नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने पनि उहाँले जानकारी गराउनु भयो । उहाँका अनुसार प्रतियोगितामा सहभागि हुनको लागि रुपन्देहीमा रहेका व्यवसायिक तथा सामाजिक संघसंस्थालाई पत्राचार गरिएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. कृष्ण खरेल, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकाल, कोषाध्यक्ष डा. रमेश भट्टराई, सहसचिव डा. मोहन तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले दौड प्रतियोगिताको टिसर्ट सार्वजनिक गर्नुभएको छ ।