रुपन्देहीमा किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाईँदै

1.3K

रुपन्देहीमा किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाईँदै

रुपन्देहीमा माघ र फागुनमा दुई चरणमा किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भि. खोप लगाईँदै छ । सरकारले देशभर सञ्चालन गरेको खोप अभियान अन्तरगत १६ पालिका रहेको रुपन्देहीमा दुई चरणमा अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले बुधबार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेर जिल्लामा ५८ हजार ८९८ जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भि. खोप लगाउन लागिएको जानकारी गराएको हो । पहिलो चरणमा यहि माघको २२ देखि २९ गतेसम्म बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका र मायाँदेवी गाउँपालिकाका ३१ हजार ९५६ जनालाई यो खोप लगाईने छ ।
त्यस्तै अभियानको दोस्रो चरणमा फागुन १ देखि ६ गतेसम्म देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतीया गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहीमाइ गाउँपालिका, सम्मरीमाइ गाउँपालिका र मर्चवारी गाउँपालिकाका २६ हजार ९४२ जना किशोरीलाई खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणी ज्ञवालीले जानकारी गराउनु भयो ।
क्यान्सर विरुद्धको यो एच.पि.भि. खोप विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई लगाउन लागिएको हो । रुपन्देही जिल्लामा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राको संख्या ५४ हजार ६४५ रहेको छ भने १० देखि १४ वर्ष उमेर समुहका ४ हजार २५३ जना किशोरी विद्यालय बाहिर रहेको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयसंग छ । त्यस बाहेक छुटेकाहरुको लागि पनि १० प्रतिशत थप खोप माग गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ज्ञवालीले बताउनु भयो ।
पत्रकार अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईले महिलामा हुने पाठेघरको क्यान्सर विरुद्ध सञ्चालन गर्न लागिएको खोप अभियानमा लक्षित समुहका युवतीहरुलाई सहभागि भएर लाभ लिन आग्रह गर्नुभयो । उहाँले जिल्लामा अहिले २ चरणमा हुने र त्यसपछि पनि यो खोप कार्यक्रम नियमित रुपमा हुने भएकाले लक्षित उमेर समुहका बाहेकले यसबाट विमुख भईयो भन्ने भान नराख्न आग्रह गर्नुभयो ।
अभियानका लागि रुपन्देहीमा ६८५ खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका ल्यावटेक्नीसियन खिमलाल पाण्डेले जानकारी गराउनु भयो । विश्व स्वास्थ्य संगठनका डा. सागर तिवारीले पाठेघरको मुखमा हुने क्यान्सरका कारण नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुने गरेको बताउँदै एच.पि.भि खोप लगायका महिलामा पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम हट्ने बताउनु भयो ।
उहाँका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाइरस २ सय बढी प्रजातिका हुने र तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिने उहाँले बताउनु भयो । विभिन्न अध्ययनका अनुसार त्यसमध्ये पनि ‘प्रजाति १६’ र ‘प्रजाति १८’ पाठेघरको मुखमा हुने क्यान्सरका प्रमुख कारक हुन् । उहाँका अनुसार नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ ।