सरकारले किशोरीहरुलाई पाठेघरकाे मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान सुरु गरेको छ । विश्व क्यान्सर विरुद्धको दिवसको अवसर पारेर मंगलबारदेखि देशभर अभियान सुरु गरिएको हो । सोही अभियान अनुसार रुपन्देहीमा पनि पहिलो चरणको अभियान सुरु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीमा ५८ हजार ८९८ जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भि. खोप लगाईँदैछ ।
सरकारले देशभर सञ्चालन गरेको यो खोप अभियान अन्तरगत १६ पालिका रहेको रुपन्देहीमा दुई चरणमा अभियान सञ्चालन गर्न लागिएको छ । अभियानका लागि रुपन्देहीमा ६८५ खोप केन्द्र तोकिएको छ । पहिलो चरणमा यहि माघको २९ गतेसम्म बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका र मायाँदेवी गाउँपालिकाका ३१ हजार ९५६ जनालाई यो खोप लगाईने छ ।
त्यस्तै अभियानको दोस्रो चरणमा फागुन १ देखि ६ गतेसम्म देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतीया गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहीमाइ गाउँपालिका, सम्मरीमाइ गाउँपालिका र मर्चवारी गाउँपालिकाका २६ हजार ९४२ जना किशोरीलाई खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
क्यान्सर विरुद्धको यो एच.पि.भि. खोप विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई लगाउन लागिएको हो । रुपन्देही जिल्लामा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राको संख्या ५४ हजार ६४५ रहेको छ भने १० देखि १४ वर्ष उमेर समुहका ४ हजार २५३ जना किशोरी विद्यालय बाहिर रहेको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयसंग छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरका कारण नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुने गरेको छ । एच.पि.भि खोप लगायका महिलामा पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम हटेर जाने विश्वासका साथ यो खोप अभियान सञ्चालन गरिएको हो ।