बुटवल/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले नेपाली कांग्रेसको महाधिवेशन संगै वर्तमान ओली सरकार ढल्ने बताउनु भएको छ । नेपाली कांग्रेस बुटवल नगर समितिको अधिवेशनको आईतबार बुटवलमा उद्घाटन गर्दै उहाँले ओली सरकारले नारिकका पक्षमा कुनै पनि काम गर्न नसकेका कारण महाधिवेशन पछि पनि उसैलाई समर्थन गरिरहन नसकिने बताउनु भएको हो । नेपाली कांग्रेस दुई तिहाई बहुमत हुने गरी रणनीति बनाएर अंगाडी बढीरहेको बताउँदै उहाँले मधेशी दलहरुलाई पनि संवैधानिक दायरामा ल्याएर सरकारको नेतृत्व गर्ने बताउँदै उहाँले पार्टीको आन्तरिक निर्वाचनलाई सकेसम्म सर्वसम्मत बनाउने गरी अंगाडी बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । नगर सभापति खेलराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाक, सांसद हरिप्रसाद नेपाल, पूर्व सांसद शंकर पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नगर सभापति पाण्डेको वार्षिक प्रतिवेदन, सचिव प्रजापाल गिरीले प्रस्तुत गर्नुभएको सचिवको प्रतिवेदन, उपसभापति बिमलराज भट्टराईले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ ।