गर्भवती महिलालाई तिलोत्तमामा निःशुल्क भिडियो एक्सरे

1.3K

गर्भवती महिलालाई तिलोत्तमामा निःशुल्क भिडियो एक्सरे

गर्भवती महिलालाई तिलोत्तमा नगरपालिकामा निःशुल्क भिडियो एक्स–रे सेवा शुरु गरिएको छ । नगरपालिकाको वडा नंं ६ स्थित आनन्दवन स्वास्थ्य चौकी र वडा नं १० को सेमराबजार स्वास्थ्य चौकीबाट नगरका १७ वटै वडाका गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा दिन सुरु गरिएको हो ।
निःशुल्क भिडियो एक्स–रे सेवाको नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरदेवी चौधरीले आनन्द वन स्वास्थ्य चौकीमा एक समारोहबीच शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा नगर प्रमुख खाँणले निःशुल्क भिडियो एक्स–रे सेवाले विशेषगरी आर्थिक रुपमा विपन्न परिवारका गर्भवतीलाई राहत मिल्ने बताउनु भयो । नगरलाई लैंगिकमैत्री बनाउने गरी अघि बढेको सन्दर्भमा निःशुल्क भिडियो एक्सरे सेवाले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी उपप्रमुख चौधरीले रकम अभावमा विपन्न परिवारका गर्भवतीले भिडियो एक्स–रे नै नगरी बच्चा जन्माउने गर्दा आमा र बच्चाको स्वास्थ्य जोखिममा परेकोमा अब जोखिम कम हुने बताउनु भयो । तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले आफ्नै पहलमा दुई वर्ष अघिबाटै सशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको र अहिले संघीय स्वास्थ्य मन्त्रालयबाट १७ लाख रुपैयाँ मूल्यको पोर्टेबल अत्याधुनिक मेशिन प्राप्त भएपछि निःशुल्क भिडियो एक्सरे सेवा समावेश गरिएको जानकारी गराउनु भयो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गर्भवती महिलाले ४ पटक भिडियो एक्सरे गरी आमा र बच्चाको स्वास्थ्य अवस्था जानकारी लिनुपर्ने भएकाले यो सेवाले बाल तथा मातृ मृत्यु दर न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । भिडियो एक्सरे गर्ने मेशिन पोर्टेबल भएकाले १७ वटै वडामा घुम्ती शिविर चलाएर समेत गर्भवतीलाई सेवा दिने तयारी गरिएको पनि उहाँले जानकारी गराउनु भयो ।