इन्टलेक्च्युअल एकेडेमीकाे वार्षिकोत्सव : शिक्षाको हब बन्दै बुटवल

1.3K

इन्टलेक्च्युअल एकेडेमीकाे वार्षिकोत्सव : शिक्षाको हब बन्दै बुटवल

बुटवल–११ कालिकानगरस्थित इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । आइतबार आयोजित वार्षिकाेत्सव कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै बुटवल शिक्षाको हब बन्दै गएको बताउनु भयाे । उहाँले दक्ष जनशक्ति उत्पादनमा विद्यालयसंगै अभिभावक पनि जिम्मेवार हुनुपर्ने हुनुपर्ने धारणा राख्नुभयाे । उहाँले बालबालिकाको अध्ययनको लागि घरमै पनि अनुकूल वातावरण तयार गर्न अभिभावकलाई आग्रह गर्नुभयाे ।
बुटवलमा सञ्चालित निजि तथा सामुदायिक बिद्यालयका कारण बजारीकरण हुँदै गएको र आर्थिक गतिविधिसमेत बढेको बताउँदै उहाँले बुटवलका विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षासँगसँगै खेलकुद र अन्य गतिविधिमा पनि अगाडि नै रहेको भनाई राख्नुभयाे । बुटवल उपमहानगरपालिकाले शिक्षाको क्षेत्रमा लगानी बढाउँदै उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्दै आएको भनाई राख्नुभयाे ।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद मरासिनीले विद्यालयले शिक्षासँगै खेलकुद र अन्य बिधालाई समेत प्राथमिकतामा राखेर योजना अघि बढाएको बताउनुभयाे । अभिभावक, शिक्षक र कर्मचारीको मेहेनतले विद्यालयले राम्राे सफलता हासिल गरेको उहाँले बताउनु भयाे ।
विद्यालयका संस्थापक सञ्चालक तथा प्राचार्य रामराज पोख्रेलले विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवनउपयोगी शिक्षा प्रदान गर्दै आइरहेको बताउदै विद्यार्थीलाई आबश्यक पर्ने सम्पूर्ण आधारभूत कुराहरु विद्यालयले सिकाउँदै आएकाे भनाई राख्नुभयाे । ‘विद्यार्थीलाई दक्ष जनशक्ति बनाउने लक्ष्यसहित अगाडि बढिरहेका छौँ ।’ उहाँले भन्नुभयाे- ‘अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हाम्रो प्राथमिकता हो ।’ यहाँका विद्यार्थीले हरेक वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उहाँले बताउनुभयाे ।

यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सल्लाहकार डा.विष्णु शर्मा, पूर्व अध्यक्ष डिल्लीराज अर्याल लगायतले भनाई राख्नुभएकाे थियाे ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत, पिटि, कराते प्रस्तुत गरेका थिए । त्यसैगरी वार्षिक परिक्षा तथा विभिन्न गतिविधिहरुमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले बनाएका विभिन्न चित्र, बिज्ञान प्राविधिक गतिविधि एवं प्रोजेक्ट प्रदर्शनीमा राखिएकाे शिक्षक मेघराज पोख्रेलले बताउनु भयाे ।