बुटवलको आम्दा अस्पतालमा एचडियु सेवा सुरु

1.3K

बुटवलको आम्दा अस्पतालमा एचडियु सेवा सुरु

बुटवलको सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दामा) ९ शैयाको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा सुरु गरिएको छ । अस्पतालमा आएका गम्भीर प्रकृतिका बिरामीको निगरानी गरी विशेष सेवा प्रदान गर्न एचडियु सेवा सुरु गरिएको हो ।
एचडियु सेवाको शुभारम्भ गर्दै मेडिकल सुपरिटेन्डेण्ट डा. बिनोद पराजुलीले एचडियु युनिट सामान्य वार्डभन्दा बढी निगरानी र उपचार आवश्यक पर्ने बिरामीको लागि बनाइने युनिट भएकाले अस्पतालमा यो युटिन सुरु गरिएपछि अस्पताल आउने विरामीलाई सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले अस्पतालमा आउने विरामी र उनीहरुका अभिभावकले अस्पताल प्रतिको विश्वासलाई कायम राख्नका लागि एचडियु सेवा संचालन ल्याउन माग गरेकाले सोही अनुसार बिरामीलाई सेवा प्रदान गर्न सकिने बताउनु भयो ।
उहाँले अस्पतालले आर्थिक अभावका कारण चाहेजती सेवा विस्तार गर्न नसके पनि स्रोतले भ्याएसम्म क्रमशः सेवा विस्तारसंगै आधुनिकिकरण गर्दै आएको बताउनु भयो । आईसियु इकाई स्थापनाका लागि तयारि भइरहेको र निकट भविष्यमा आईसियु सेवा संचालन हुने समेत जानकारी गराउनुभयो ।

अस्पतालमा बाल रोग विशेषज्ञको उपस्थितिमा २४ सै घण्टा आकस्मिक सेवा, बाल मुटुरोग, स्त्री क्यान्सररोग, बाल तथा स्त्री सम्बन्धि सम्पूर्ण शल्यक्रिया, नाक कान घांटी, आँखा, दाँत, नशा तथा हाडजोर्नी लगायतका सेवाहरू प्रदान गर्दै आईएको छ ।
कार्यक्रममा अस्पतालका मानव संसाधन विभाग प्रमुख देव खनालले एचडियु सेवा तयारी अवस्थामा रहेको र बिरामीको उपचार भइरहे पनि सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको बताउनुभयो ।