चैत ७ गतेदेखि हुने एसईई परीक्षामा रुपन्देही जिल्लाबाट झण्डै २३ हजार विद्यार्थी सहभागि हुँदैछन् । एसईई परीक्षामा रूपन्देहीका ३४६ (१७६ सामुदायिक र १७० संस्थागत) विद्यालयबाट २२ हजार ६५० विद्यार्थी सहभागि हुन लागेका हुन् । परीक्षाको तयारी पुरा भएको जिल्ला शिक्षा समन्यव इकाई रुपन्देहीले जनाएको छ । परीक्षाको लागि रुपन्देही जिल्लामा ६० वटा परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षामा रुपन्देहीबाट नियमिततर्फ १७ हजार २८४ जना, ग्रेडबृद्धि तर्फ ४ हजार ५७९ जना र प्राविधिक धारतर्फ ५०३ जना विद्यार्थी सहभागि हुने जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका सूचना अधिकारी अमरबहादुर केसीले जानकारी गराउनु भयो । उहाँका अनुसार प्राविधिक धारतर्फ पनि नियमितमा ४०३ जना र ग्रेडबृद्धिमा १ सय जना विद्यार्थी सहभागि हुनेछन् । त्यस्तैगरी पुरानो ग्रेडबृद्धि २०८० भन्दा अगाडिका २८४ जना विद्यार्थी सहभागि हुन लागेका हुन् । उनीहरुकालागि एउटै परीक्षा केन्द्र तोकिएको छ । पुरानो ग्रेडबृद्धि तर्फका सबै विद्यार्थीको लागि बुटवल माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको उहाँले बताउनु भयो ।
परीक्षा विहान ८ देखि ११ बजेसम्म हुनेछ । अपाङ्गता भएका विद्यार्थीको प्रकृति हेरेर बढीमा एक घण्टा सम्म समय थप गर्न सकिने पनि उहाँले जानकारी गराउनु भयो । त्यस्तै लेख्नै नसक्ने अपाङ्गता भएका विद्यार्थीले विद्यालयको सिफारिसमा ९ कक्षाका विद्यार्थीलाई सहयोगी लेखक राख्न सक्नेछन् ।
उहाँका अनुसार परीक्षा सञ्चालनका लागि सुरक्षा बाहेक २ हजार बढी कर्मचारी परिचालन गरिने छ । परीक्षामा ६० जना केन्द्रध्यक्ष सहित सहायक केन्द्रध्यक्ष, निरीक्षक, सहायक कर्मचारी, सहयोगी समेत गरी करिव २ हजार १ सय जना कर्मचारी परिचालन गरिने उहाँले बताउनु भयो ।