लुम्बिनी मेडिकल कलेज र ग्लोवल आईएमई बैंक बिच बैंकका ग्राहकलाई उपचारमा सहुलियत दिने सम्झौता गरिएको छ । लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र ग्लोवल आईएमई बैंक लिमिटेड बिच बैंकका ग्राहकलाई अस्पतालका सेवा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
उक्त सम्झौतामा अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेल र बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार अस्पतालले बैंकका डेबिट÷क्रेडिट कार्ड एवं मोबाइल एप प्रयोगकर्तालाई अस्पतालको सेवा तथा औषधि उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छूट प्रदान गर्नेछ ।
अस्पतालले बैंकका ग्राहकलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओपीडी, अपरेशन लगायतका सेवामा उक्त छूट दिने भएको हो । यस साझेदारीपश्चात् बैंकका ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवा सुविधा सहुलियत दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अपेक्षा गरिएको अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले बताउनु भयो ।