शुद्धोदन गाउँपालिकामा राजा शुद्धोदनको खोजी

1.3K

शुद्धोदन गाउँपालिकामा राजा शुद्धोदनको खोजी

रुपन्देहीको शुद्धोदन गाउँपालिकामा भगवान गौतम बुद्धका बुवा राजा शुद्धोदनको खोजी गरिएको छ । अहिलेसम्म कतैपनि बहस र चर्चा नहुने गौतमबुद्धका बुबा राजा शुद्धोदन पात्रको खोजी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले बताउनु भयो ।
गौतमबुद्धका बुबा राजा शुद्धोदनको नामबाट गाउँपालिकाको नामाकरण गरिएको भएपनि वास्तवमा शुद्धोदन कस्ता थिए, उनको आनीबानी व्यबहार कस्तो थियो, यावत विषयमा गहिरोसंग अध्ययन सुरु गरिएको उहाँले बताउनु भयो । त्यसैका लागि मंगलबार गाउँपालिकामा ‘शुद्धोदनका लक्षण/नीति सेमिनार गरिएको छ ।
शुद्धोदन गाउँपालिकाका क्षेत्र लुम्बिनीमा राजभार सम्हालेर बसेका राजा शुद्धोदनको क्रिडास्थल पनि भएकाले उनकै नामबाट गाउँपालिकाको नामाकरण भएको बताउँदै अध्यक्ष बस्यालले जसका नामबाट गाउँपालिकाको नाम राखियो, त्यो पात्रको पहिचान खोजी गरिएको र एउटा निश्कर्षमा पुगेर राजा शुद्धोदनकै नामबाट बुद्धिष्ट पर्यटक भित्र्याउन सकिने बताउनु भयो ।
कार्यक्रममा मूर्तिको डिजाइन, निर्माण प्रक्रिया तथा यसको ऐतिहासिक महत्वबारे छलफल गरिएको थियो । राजा शुद्धोदनको मूर्ति गाउँपालिकाको भवन अगाडि राखिने भएकोले राजा शुद्धोदनको मूर्तिको बारेमा गहिरो खोज अनुसन्धान गरि ऐेतिहासिक पात्र राजा सुद्धोदनका नामबाट गाउँपालिकालालाई विश्वमा चिनाउन सकिने छ ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालय, अनुसन्धान केन्द्रका निर्देशक डा. गितु गिरी, लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन विभागका प्रमुख भिक्षु डा. डीमा शेर्पा, लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकाय, उपप्राध्यापक भिक्षु वजिर भन्ते, लुम्बिनी बौद्ध विश्व विद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रका सहायक प्रध्यापक सुमन्तराज न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले जसका नाममा गाउँपालिकाको नामाकरण गरिएको छ, त्यो पात्रको खोजीले गाउँपालिकाको गरिमा बढाउने विश्वास व्यक्त गर्दै राजा शुद्धोदनको पहिचान स्थापित गर्न सकेमा लुम्बिनी आउने पर्यटकलाई पनि गाउँपालिकामा भित्र्याउन सकिने भनाई राख्नुभयो । उहाँले त्यसका माध्यमबाट गाउँपालिकाको अर्थतन्त्रमा समेत योगदान पुग्ने भनाई राख्नुभयो ।
त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले तर राजा शुद्धोधनको पहिचान गरि शालिक बनाउँदा एकरुपता हुनेगरी बनाउनु पर्ने भनाई राख्नुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले गौतम बुद्धका पिता शुद्धोदनको खोजी हुनु स्वागतयोग्य रहेको बताउँदै त्यसका लागि विश्वविद्यालयका तर्फबाट सघाउन आफूहरु तयार रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा राजनीनितिक दलका प्रतिनीधि, समाजसेवी, बुद्धिजिवी, शिक्षक, पत्रकारहरुको सहभागिता रहेको थियो । शुद्धोदन राजाको मूर्तिको आकृति, मुखको बनावट तथा अन्य लक्षणहरूबारे गहिरो अध्ययन गरी, ऐतिहासिक दस्तावेजका आधारमा मूर्ति निर्माण गर्न सहभागिहरुले सुझाव दिएका छन् । यसले शुद्धोदन राजाको ऐतिहासिक र सांस्कृतिक महत्व उजागर गर्ने अपेक्षा गरिएको छ ।
लुम्बिनी क्षेत्रको इतिहास र संस्कृतिसँग मूर्तिलाई जोड्नका लागि विभिन्न राष्ट्रहरूसँगको सहकार्य आवश्यक रहेको विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा सहभागीहरूले लुम्बिनी क्षेत्रको ऐतिहासिक महत्वलाई पुनः उजागर गर्दै, यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि थप सहकार्य आवश्यक रहेको बताएका थिए । गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्तीको सञ्चालनमा कार्यक्रम भएको थियो ।