राष्ट्रिय सहकारी दिवसमा विविध कार्यक्रम गरिँदै

1.3K

राष्ट्रिय सहकारी दिवसमा विविध कार्यक्रम गरिँदै

राष्ट्रिय सहकारी दिवसको अवसरमा रुपन्देहीमा विविध कार्यक्रमको तयारी गरिएको छ । जिल्ला सहकारी संघ लि. रुपन्देहीको अयोजना तथा विभिन्न विषयगत सहकारीहरुका छाता संस्थाहरुको सहआयोजनामा ‘मर्यादित सहकारी ः समुन्नत समाज’ भन्ने नारा सहित यहि चैत २० गते ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो ।
सहकारी दिवस विशेष कार्यक्रमका बारेमा मुल आयोजक समिति जिल्ला सहकारी संघ लि. रुपन्देहीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिका संयोजक सहकारी महासंघका लेखा सुपरिवेक्षण समितका संयोजक भिमप्रसाद तुलाचनले राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्लाभर विभिन्न कार्यक्रम चलिरहेको जानकारी गराउनु भयो । उहाँका अनुसार मुल समारोह बुटवलमा २० गते गरिने छ ।
राष्ट्रिय सहकारी दिवसका अवसरमा रुपन्देहीमा विभिन्न ५६ वटा कार्यक्रम गर्न लागिएको हो । जसअन्तरगत बचत तथा ऋण सहकारी अन्तरगत ३४, बहुउद्देश्यीय सहकारी अन्तरगत १५, कृषि सहकारी अन्तरगत ५, दुग्ध उत्पादक सहकारी अन्तरगत १, देवदह सहकारी सञ्जाल १ वटा कार्यक्रम गर्न लगिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
त्यसबाहेक २० गते मुल समारोह गर्न लागिएको हो । बुटवल उपमहानरपालिकाको विशेष सहयोगमा आयोजना हुन लागेको मुल समारोहमा ‘नेपालको सहकारी अभियान विगतदेखि बर्तमानसम्म’ विषयमा सहकारी विषयमै विध्यावारिधी गरेका प्रा. डा. खगराज शर्माले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
मुल समारोह बुटवल उपमहनारपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता र उप प्रमुख सावित्रा देवी आर्यलको विशेष आतिथ्यतामा गर्न लागिएको कार्यक्रममा विभिन्न सहकारीहरुले गरेका उत्पादनलाई प्रदर्शनी समेत गरिने रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्तप्रसाद ढकालले बताउनु भयो ।
राष्ट्रिय सहकारी विवस मुल समारोहमा जिल्ला सहकारी संघ रुपन्देही मुख्य आयोजक हो भने रुपन्देही बचत तथा ऋण सहकारी संघ, राष्ट्रिय सहकारी बैंक बुटवल, तिलोत्तमा र भैरहवा शाखा, जिल्ला कृषि सहकारी संघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ बुटवल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देही, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि बुटवल, सामाजिक उद्यमी जिल्ला सहकारी संघ लि, लुम्बिनी विशिष्टकृत सहकारी संघ लि र बहुउदेश्य सहकारी संघ लि रुपन्देही सह आयोजको रुपमा रहेका छन् ।