लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेविज विरुद्धको एआरभी खोप अभाव : सेवा बन्द

1.3K

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेविज विरुद्धको एआरभी खोप अभाव : सेवा बन्द

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रेविज विरुद्धको एआरभी खोप सेवा बन्द गरिएको छ । कुकुरले टोकेकोमा लगाउने रेविज विरुद्धको एआरभी भ्याक्सिनको मौज्दात सकिएपछि उपचार सेवा बन्द गरिएको हो ।
रेविज विरुद्धको एआरभी भ्याक्सिनका लागि अस्पतालमा दैनिक २ सयको हाराहारी संख्यामा बिरामी आउने गरेको अस्पतालले जनाएको छ । नेपाल सरकारबाट निःशुल्क प्रदान गरिएको यो खोप सेवा बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका कोल्ड चेन निरीक्षक हरिप्रसाद आचार्यका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा मासिक सात हजार भ्याक्सिन खपत हुँदै आएको छ । यो खोप मन्त्रालयमा पनि सकिएको उहाँले बताउनु भयो । त्यसकारण अहिले टेण्डर हाल्न लागिएको उहाँले बताउनु भएको छ ।
फास्ट ट्रयाकबाट टेण्डर गर्दा पनि कम्तीमा एक महिना लाग्ने मन्त्रालयले उहाँलाई जानकारी गराएको छ । आपतकालिन अवस्थाको लागि लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलले २ सय भ्याक्सिन सुरक्षित राखिएको पनि उहाँले बताउनु भएको छ ।