पाकिस्तानमा भारतले मिसाइल हमला गरेको छ । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको हो । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । मिसाइल हमलापछि कश्मीर क्षेत्र अशान्त बनेको छ ।
यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । भारत सरकारले भनेको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो ।’
भारतीय पत्रपत्रिकाका अनुसार भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक हमला गरेको हो । जसमा ३० जनाको मृत्यु भएको बताईएको छ । पाकिस्तानले भने भारतले आतंकवादी ठेगानामा आक्रमण गरेको प्रचार गरे पनि सर्वसाधारण नागरिकको बस्तीमा आक्रमण भएको बताएको छ ।
२२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि भारत र पाकिस्तानको सम्बन्ध तनावपूर्ण बनेको हो । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।