नेपाल प्रेस युनियनको आयोजनामा आजदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुँदैछ । आजदेखि ३० गतेसम्म हुने अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्घाटन ललितपुरको होटल हिमालयमा गरिने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी गराउनु भयो । समापन मुस्ताङमा हुनेछ ।
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्ने कार्यक्रम तय गरिएको छ भने उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा.आरज राणा देउवालगायत विभिन्न देशका पत्रकारहरुले सम्बोधन गर्नेछन् ।
‘नेपालको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ ।’ अध्यक्ष सम्सालले भन्नुभयो–‘नागरिक सम्वृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपन्तरणमा केही योगदान प¥याउन सकिन्छ भन्ने हेतुले नेपाल प्रेस युनियन यो समिट आयोजना गर्न लागेको हो ।’
समिट काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङसम्म बैशाख २७ गते देखि ३० गते सम्म चल्नेछ । विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरुको प्रस्तुति रहनेछ । समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने छ ।
समिटमा नेपानी पत्रकारितामा पत्रकारहरुले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहित निष्कर्ष निकाल्ने लक्ष्य राखिएको उहाँले बताउनु भयो । बदलिँदो नेपालमा जनचाहना अनुरुपको पत्रकारिताको सन्दर्भमा अबको पत्रकारिताले सामाजिक वातावरणीय क्षेत्रमा पनि ध्यान दिन जरुरी देखिएकाले जलवाय परिवर्तनले निम्त्याएको संकटका बारेमा पनि छलफल गरिने छ ।
साथै जलवाय परिवर्तनले निम्त्याएको जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिकालगायत विविध पक्षमा विश्लेषण हुनेछ । उदघाटन समारोहपछि ‘राजनैतिक दल, नागरिक समाज, लोकतन्त्र र पत्रकारिता ः को कति नजिक, को कति टाढा ?’ विषयमा पहिलो प्रस्तुति हुनेछ । जसमा डा. हरि शर्माले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ दिलेन्द्र बडु, पार्वत गुरूङ, रेखा शर्मा, डा. भासिल सोतिरोभ र पत्रकार शिव गाउँले वक्ताका रुपमा रहनुहुने छ ।
विदेशी पत्रकारसहित करिब १५० पत्रकार सहभागी हुने मिडिया समिटको यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमाङथाङसम्म हुने नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताउनु भयो । समिटको दोस्रो दिन पर्यटकीय नगरी पोखरामा तीन वटा विषयगत सेसनमा प्रस्तुती तथा बहस पैरवी हुनेछ । उक्त दिन पहिलो सत्रमा ‘जलवायु संकट र पत्रकारिता’ दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा बहस र छलफल हुने अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।
समिटको तेस्रो दिन पोखरादेखि मुस्ताङसम्म मिडिया यात्रा हुनेछ भने चौथो दिन मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाका सहभागीतामा जलवायु संकटमा मिडियाको भूमिकाको बारेमा वृहत अन्तरक्रिया गरिने छ । समिटको अन्तिम दिन लोमाङथाङ घोषणा पत्र जारी गरिने युनियनका महासचिव पौडेलले बताउनु भयो ।