भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । तर सिमा क्षेत्रमा भएका गोलावारीका कारण कायान्वयमा चुनौति देखिएको छ ।
पहलगाम घटनालाई लिएर बुधबार बिहानदेखि एकअर्काविरुद्ध हमलामा उत्रिएका भारत र पाकिस्तान अन्ततः युद्धविराम गर्न सहमत भए । दुवै देशका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) बीच शनिबार भएको टेलिफोन संवादपछि युद्ध रोक्ने सहमति भएको हो ।
युद्धविराममा सहमति भएको घोषणा गरेपनि शनिबार साँझ नै भारत प्रशासित श्रीनगरमा विस्फोट सुनिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जम्मु–कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहको ‘एक्स’ मा नै हवाई आक्रमणको भिडियो राखिएको थियो । विस्फोट हुन थालेलगत्तै सीमावर्ती भारतका केही स्थानमा ‘ब्ल्याकआउट’ गरिएको थियो । शनिबार राति दुवैतर्फ ड्रोन हमला र गोलाबारी चलेको सञ्चारमाध्यमले जनाएका छन् ।
दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका थिए । पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । दुवै पक्षबीच शनिबार साँझ ५ बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको थियो ।
दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने पनि भनिएको छ ।
भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा २२ अप्रिलमा आतंकवादी समूहले गरेको हमलामा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । त्यस घटनालगत्तै भारतले पाकिस्तानीका लागि भिसा रद्द गरेको थियो भने सिन्धु जल सन्धिलाई निलम्बन गरेको थियो । दिल्लीमा रहेका पाकिस्तानी सुरक्षातर्फका कूटनीतिक अधिकारीलाई भारत छाड्न भनिएको थियो । जवाफमा पाकिस्तानले पनि भारतीय जहाजका लागि आफ्नो हवाई रुट बन्द गरेको थियो भने भारतीय कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएको थियो ।