बुटवल हस्पिटलमा पहिलो पटक दुवै घुंडाको एकै पटक सफल प्रत्यारोपण गरिएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमले गुल्मीको दरवार गाउपालिका स्थायी घर भई बुटवलको वेलवरियामा बस्दै आएकी ५३ वर्षिया पुर्णकला सोमैको दुवै खुट्टाको घुंडामा हुने जोर्नीको प्रत्यारोपण गरेको हो । यो प्रकृतिको शल्यक्रिया सम्भवत बुटवलमै पहिलो भएको डा. रेग्मीले बताउनु भयो ।
विश्व प्रशिद्ध अमेरिकन कम्पनी म्याक्सको कृतिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई बिस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको उहाँले बताउनु भयो । सोमै लामो समयदेखि जोर्नी खिइने रोग अस्टिओआर्थाइटिसुबाट ग्रसित हुनुहुन्थ्यो ।

घुँडामा धेरै दुखाइ हुनुका साथै हिँडडुल गर्न समेत नसक्ने भएपछि उपचारको खोजीमा रहनु भएकी सामै बुटवल हस्पिटल प्रा.लि.मा घुंडाको प्रत्यारोपण हुन्छ भन्ने सुनेपछि आशा पलाएको र उपचारका लागि आएको बताउनु भयो । घुंडाको प्रत्यारेपण भएको ५ दिन पछि नै समान्य साहरामा हिडडुल गर्न थालिसकेको पुर्णकलाका श्रीमान् भुवन सिंहले बताउनु भयो ।
अस्पतालबाट घर पर्किने वेलामा समान्य हिडडुल गर्नु भएकी पुर्णकलाले पहिलेको अवस्थामै फर्किन लागेको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो –‘पहिले हिँडडुल पनि गर्न सक्दिनथें, अब जीवनभर यस्तै दुःख पाएर बस्नुपर्ने होला की भनेर दुःख लागेको थियो, उपचारपछि अर्को जन्म लिएको महसुस भएको छ ।

शल्यक्रियामा डा रेग्मीसंगै बुटवल हस्पिटल प्रा.लि.मा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ डा. समिर उल्लाह, डा दिपेन्द्र यादव र डा प्रह्लाद अधिकारीको एनेस्थेसियाको टिमले शल्यक्रिया गरेको हो । बुटवल हस्पिटल प्रा.लि.मा कार्यरत डा. रेग्मीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान विर अस्पतालबाट जोर्नी सम्वन्धी फेलोशिप तालिम लिनु भएको छ ।
घुंडा प्रत्यारोपण पछि डा रेग्मीले पहिलो पटक दुवै घुंडाको एकैपटक सर्जरी भएकोले काठमाडौंका चिकित्सकहरुको समेत सहयोग लिएको बताउनु भयो । उहांले अबका दिनमा यस्तो अप्रेशनका लागि हस्पिटलकै टिम तयार हुने पनि बताउनु भयो ।
कृतिम जोर्नी अलि महंगो पर्ने भएपनि काठमाडौं भन्दा सस्तो मुल्यमा बुटवलमा घुडाको प्रत्यारोपण सर्जरी भएको हो । सुलभ दरमा कृत्रिम जोर्नी उपलब्ध गराउन सरकार या सरोकारवाला नियकाले पहल गरेमा यस्तो समस्याबाट दुःख पाएका बिरामीका लागि जोर्नी प्रत्यारोपण शल्यक्रिया बरदान सावित हुने बुटवल हस्पिटलका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताउनु भयो ।
हाडजोर्नी समस्यामा यस प्रकारको अत्याधुनिक तथा जटिल शल्यकृया बुटवलमा हुने भएपछि महंगो खर्चमा उपचारको निमित्त काठमाडौं वा भारतका बिभिन्न ठाउँमा भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको पनि उहाले बताउनु भयो ।