सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा जलवायु परिवर्तनबारे सचेतना

1.3K

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा जलवायु परिवर्तनबारे सचेतना

जलवायु परिवर्तनको चुनौती विश्वव्यापी संकटको रूपमा गहिरिँदै गएको वर्तमान सन्दर्भमा सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलले वातावरणीय शिक्षा र चेतनाको अभिवृद्धिका लागि तीन दिने विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ‘जलवायु परिवर्तन ः चुनौती र समाधान’ विषयमा गरिएको कार्यक्रममा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा वातावरणीय दायित्वप्रति सशक्त सन्देश दिएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख गोपालप्रसाद चापागाईंले जलवायु संकटबारे नयाँ पुस्तामा वैज्ञानिक सोच र संवेदनशीलता विकास गर्नु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले क्याम्पसले वातावरणीय विषयवस्तु समेटिएको अतिरिक्त पाठ्यक्रम विकास गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । ‘हामीले पठन–पाठनलाई व्यवहारिक बनाउँदै जलवायु शिक्षालाई समेत समावेशी बनाउने छौं ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा सिडिएम नेपालका निर्देशक धर्मराज घिमिरे र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका परियोजना अधिकृत कृष्ण मल्लले जलवायु परिवर्तन, दैवीप्रकोपको जोखिम व्यवस्थापन, तथा स्थानीय अनुकूलन रणनीतिहरूका विषयमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा सहभागीलाई बहस, प्रस्तुति र कार्यशालामार्फत् शिक्षण संस्थाहरूले खेल्नुपर्ने भूमिकातर्फ समेत सचेत गराएको छ ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख द्वय श्रीकृष्णप्रसाद खनाल र श्रीरामनाथ उपाध्याय लगायत विभिन्न विभागका प्राध्यापकहरू, कर्मचारी तथा विद्यार्थी गरी १५० भन्दा बढीको उपस्थिति रहेको उपप्राध्यापक शेषकान्त अर्यालले जानकारी दिनुभयो ।