लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरिँदै छ । रुपन्देही व्यापार संघको सहयोगमा अस्पतालले नै सञ्चालन व्यवस्थापन गर्नेगरी लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गर्न लागिएको हो ।
उक्त रक्त सञ्चार सेवा केन्द्रको यहि १७ गते शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको रुपन्देही व्यापार संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । अस्पताल हाता भित्र सञ्चालन गरी उक्त रक्तसञ्चार केन्द्रको संरक्षण तथा व्यवस्थापन अस्पतालले नै गर्नेगरी सम्झौता भएको संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालमा सञ्चालन गरिने रक्त सञ्चार केन्द्रको संरचना समेत अस्पतालले नै तयार गर्ने र त्यसका लागि आवश्यक उपकरण संघले गराएको उहाँले बताउनु भयो ।
उक्त रक्त सञ्चार केन्द्रमा जर्मनमा निर्मित अत्याधुनिक मेसिनहरु जडान गरिएको बताउँदै अध्यक्ष अधिकारीले त्यसका लागि संघले १ करोड ५८ लाख २० हजार रुपै्रया लगानी गरेको जानकारी गराउनु भयो । जसमा एकै पटकमा १ हजार युनिट रगत भण्डारण गर्न सकिने छ । अस्पताल प्रशासनका अनुसार अहिले यो अस्पतालमा मासिक सरदर ३ सय युनिट रगत आवश्यक छ ।
अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापनालाई सामाजिक उत्तरदायित्व अन्तरगत मेघा प्रोजेक्टको रुपमा अगाडि बढाईएको र आवश्यकता अनुसार स्तरोन्नतीको लागि पनि संघको जिम्मेवारी रहने उहाँले बताउनु भयो ।