यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी वर्षा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हुने मौषम विज्ञान विभागको प्रक्षेपण छ ।
जसका कारण यो वर्षको मनसुन अवधिमा लुम्बिनीमा सबैभन्दा धेरै जनसंख्या प्रभावित हुनसक्ने आँकलन गरिएको छ । त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा प्रभावित हुने आकलन गरिएको छ । सरकारले यस वर्षको मनसुन अवधिमा देशभर ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आँकलन गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै लुम्बिनी र सबैभन्दा कम कर्णाली प्रदेशमा प्रभावित हुने आँकलन गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा गरेको वर्षाको प्रक्षेपणलाई समेत आधार मानेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो आँकलन गरेको हो । सोही प्रक्षेपणको आधारमा प्राधिकरणले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ५ लाख २३ हजार ६५६ जना प्रभावित हुने आँकलन गरेको हो । लुम्बिनीमा १ लाख १९ हजार ८३० घरधुरी प्रभावित हुने अनुमान छ ।
लुम्बिनीपछि सबैभन्दा धेरै बागमती प्रदेशको जनसंख्या प्रभावित हुने अनुमान छ । बागमतीमा ३ लाख २७ हजार ३७६ जना मनसुनबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ । गण्डकी प्रदेशमा २ लाख ८७ हजार १०७, कोशीमा २ लाख ७५ हजार ८६७, मधेशमा २ लाख २८ हजार ६८७, सुदूरपश्चिममा २ लाख २७ हजार ७३० र कर्णालीमा सबैभन्दा कम १ लाख २७ हजार ३०८ जनसंख्या मनसुन अवधिमा प्रभावित हुने पूर्वानुमान गरिएको छ ।
यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमै सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना देखिएको छ । यस वर्षको मनसुन यसै साताको अन्तिमतिर नेपाल प्रवेश गर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर हावापानीको हालसम्मको अवस्था हेर्दा यस वर्ष जुन १३ भन्दा अघि नै मनसुन भित्रिने सम्भावना बढी देखिएको हो ।
प्रिमनसुन अवधिमै सरदरभन्दा बढी वर्षा भएकाले जमिन भिजेको र मनसुनमा पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेकाले जनधनको क्षति बढी हुने सम्भावना रहेको छ ।