नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री वालकृष्ण खाँणले पर्यटनमैत्री वातावारण निर्माणमा जोड दिनुभएको छ । मुलुकको आर्थिक समृद्धिको लागि पर्यटन विकास पहिलो आधार भएको बताउँदै उहाँले पर्यटनमैत्री वातावरण निर्माणमा जोड दिनुभएको हो ।
बुटवल उपमहानगरपालिकाले शनिबार बुटवलमा गरेको सिमाना जोडिएका पालिकासंग सहकार्य र संयुक्त अभ्यास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले पर्यटकीय गन्तव्यको विकास, सहज आवतजावत तथा पर्यटकलाई गर्ने व्यवहार र आचरण सुधार गर्नुपर्ने भनाई राख्नुभएको हो ।
उहाँले नेपाल प्रवेशका क्रममा भारतीय पर्यटकले अनावश्यक चेकजाँच र झन्झट व्यहोर्नु परिरहेको बताउँदै ती कुराहरुमा सुधार गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले विदेशी पर्यटकले २५ हजार रुपैंया मात्रै ल्याउन पाउने निर्णय सच्याएर ५ हजार अमेरिकि डलर ल्याउन पाउने व्यवस्था राम्रो भएको भनाई राख्नुभयो ।
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट राम्रो भएको बताउँदै मुलुकको अर्थतन्त्र सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिलो जननिर्वाचित सरकारका अर्थमन्त्री सुवर्ण समशेरपछि अहिले आएको बजेट राम्रो र क्रान्तिकारी भएको बताउँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद दिनुभयो । ‘बजेटले नेपालको वस्तुस्थितिलाई यथार्थ रूपले समेटेको छ र विद्यमान आर्थिक चुनौतीबीच सुधारको स्पष्ट संकेत दिएको छ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सीमा नाकामा प्रहरीले पर्यटकलाई सास्ती दिने गुनासो सरकारसम्म पनि आइपुगेको बताउँदै सुधारको आवश्यकता औंल्याउनु भयो । त्यसैगरी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्रका अनिवार्य कामका लागि पनि प्रदेश सरकारबाट बजेट नपाउँदा प्रदेश सरकारको महशुस गर्न नसकिएको गुनासो गर्नुभयो ।