बुटवलको लम्बिनी प्रादेशिक अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोगमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रको शनिबार लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा बोल्दै मुख्यमन्त्री आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गर्नुभयो । अस्पतालले अन्य स्वास्थ्य संस्थाहरुमा समेत रगत उपलब्ध गराउन सक्ने क्षमतासहित रक्तसञ्चार केन्द्र स्थापना भएको बताउँदै दिर्घकालिन सञ्चालनमा जोड दिनुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई रगतमा लाग्ने सेवा शुल्कलाई निःशुल्क गराउने कार्यक्रम अघि सारे पनि निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिइरहेको उल्लेख गर्नुभयो ।
रुपन्देही व्यापार संघले दैनिक १ हजार युनिट रगत संकलन गर्न सकिने १ करोड ५८ २० हजार रुपैंया बराबरको आवश्यक उपकरण प्रदान गरिएको संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले बताउनु भयो । रक्त सञ्चार सेवा केन्द्र उद्घाटनको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २९७ जनाले रक्तदान गरेको पनि उहाँले जानकारी गराउनु भयो ।