दर्ता विना सञ्चालनमा आएका बुटवलका ६ वटा क्लिनिकमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ताला लगाएको छ । बिहिबार अनुगमनका क्रममा विना दर्ता सञ्चालन गरेको पाईएकाले ताला लगाईएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाको नेतृत्वमा अनुगमन भएको थियो ।
बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गरिएको र ६ वटा विना दर्ता सञ्चालन गरेको पाईएकाले ताला लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताउनु भएको छ । अनुगमन टोलीले अस्पताल लाइनमा सञ्चालित शिला मेडिकल हल, वरदान क्लिनिक, चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, पुनम मेडिकल हल, मंगलमय स्वास्थ्य क्लिनिक र रुचिका हेल्थ क्लिनिकलाई बन्द गरिदिएको हो ।
शिला मेडिकल हल र पुनम मेडिकल हलले औषधी विक्रीको लागि फार्मेसी सञ्चालनको अनुमति लिए पनि चिकित्सक राखेर बिरामीको चेकजाँच गर्ने क्लिनिक समेत सञ्चालन गरेको पाइएको उहाँले बताउनु भयो । रुचिका हेल्थ क्लिनिक र वरदान क्लिनिकले दर्ता नगरी ल्याब समेत सञ्चालन गरेका छन् ।
विना दर्ता सञ्चालन भएको चन्दन फार्मेसीको पनि ल्याब बन्द गरिएको छ । चन्दनले फार्मेसी सञ्चालनको अनुमति लिए पनि ल्याब समेत सञ्चालन गर्दै आएको थियो । मंगलमय स्वास्थ्य क्लिनिक पनि अनुमति नलिई सञ्चालन गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी रानाका अनुसार करिस्मा पोलिटेक्निकल र राजधानी फार्मेसीले सञ्चालनको लागि अनुमति लिएको भए पनि व्यवस्थित नभएकोले दुबैलाई व्यवस्थित गर्न निर्देशन दिइएको जानकारी गराउनु भयो ।
बन्द गरिएका क्लिनिकहरुलाई दर्ता प्रमाणपत्र प्राप्त गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिइने उहाँले बताउनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्नेसियन खिमलाल पाण्डेका अनुसार रुपन्देहीमा ५ सयबढी मेडिकल क्लिनिकहरु छन् । बिहीबार बिहान सहायक प्रमुख जिल्ला अधिकारी रानाको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ रुपन्देही, उपभोक्ता हित संरक्षण मञ्च लगायतको टोलीले अनुगमन गरेको थियो ।