औषधी व्यवसायी संघ भन्छ – रुपन्देहीमा ५६० औषधी पसल विना दर्ता सञ्चालनमा छन्

1.3K

औषधी व्यवसायी संघ भन्छ – रुपन्देहीमा ५६० औषधी पसल विना दर्ता सञ्चालनमा छन्

औषधी व्यवस्था विभागमा दर्ता नभईकनै रुपन्देहीमा ५६० बढी औषधी पसल सञ्चालनमा रहेको पाईएको छ । औषधी व्यवस्था विभागमा दर्ता भएर रुपन्देही जिल्लामा १ हजार ३४५ खुद्रा औषधि पसल र २९८ वटा थोक औषधी पसल सञ्चालनमा छन् ।
नेपाल औषधी व्यवसायी संघ रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकारहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष खड्गबहादुर बस्नेतले संघले गरेको आन्तरिक सर्वेक्षणमा ५६० वटा औषधि पसल विना दर्ता सञ्चालनमा रहेको पाईएकोले विभागमा दर्ता नभई सञ्चालनमा आएका पसललाई दर्ता हुन या अनुगमन गरी कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।
रुपन्देहीमा खुद्रा तर्फ १ हजार ९२ एलोपेथिक, १०५ आयुर्वेदिक, ३० होमियोप्याथी र ११८ भेटेनरी तथा थोकतर्फ २५३ एलोपेथिक, १८ वटा आयुर्वेदिक, २ वटा होमियोप्याथी, युनानी १ र २४ वटा भेटेनरीका औषधी व्यवस्था विभागमा दर्ता भएर सञ्चालनमा रहेको उहाँले बताउनु भयो ।

त्यसबाहेक ५६० भन्दा बढी औषधी पसल विभागमा दर्ता नै नभई सञ्चालन भएपनि नियमनकारी निकायको अनुगमनको पाटो कमजोर हुँदा त्यस्ता व्यवसायीले कमजोर राज्यसंयन्त्रको फाईदा उठाएको संघका निवर्तमान अध्यक्ष सुरज भट्टराईले बताउनु भयो । उहाँका अनुसार यसले दर्ता भएर सञ्चालनमा आएका औषधी व्यवसायीलाई समस्या भएको छ भने राज्यको राजश्वमा समेत नोक्सानी भईरहेको छ ।
त्यसबाहेकर खुला सिमानाका कारण अवैध औषधीको आयात, झालामा औषधी बोकेर घुम्ने व्यवसायीहरु, एलोपेथिक र आयुर्वेदिक औषधी एउटै पसलबाट विक्रिवितरण गर्न नपाईने प्रावधान व्यवसायीका प्रमुख समस्याका रहेको संघका कोषाध्यक्ष केदार नेपालले बताउनु भयो । औषधीमा मुल्य अभिबृद्धि कर नलागेपनि औषधीजन्य बस्तुमा मुल्य अभिबृद्धि कर लाग्ने गरेको बताउँदै उहाँले यस्ता कुरामा एकरुपता कायम गर्नुपर्ने भनाई राख्नुभयो ।
व्यवसायी सहायक तालिम हुन नसक्दा व्यवसायमा प्रत्यक्ष प्रभाव गरेको छ । उहाँले व्यवसायीलाई त्यो तालिम दिईँदै व्यवसायीलाई अझैबढी मर्यादित र जिम्मेवार बनाउन सकिने बताउनु भयो । त्यस्तै औषधी पसलमा विशेषज्ञ बिना नै गरिने अनुगमनले पनि व्यवसायीलाई समस्या भएको छ ।