प्रेस युनियनले गर्यो सर्जक पाण्डेलाई सम्मान

1.3K

प्रेस युनियनले गर्यो सर्जक पाण्डेलाई सम्मान

नेपाल प्रेस युनियन रुपन्देहीले सर्जक डिल्लीनारायण पाण्डेलाई सम्मान गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको विकास पत्रकारिता तालिम समापनका अवसरमा विहिबार युनियनका सदस्य समेत रहनुभएका सर्जक पाण्डेलाई सम्मान गरेको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका, सुद्धोदन गाउँपालिका र गैडहवा गाउँपालिका तथा पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकामा उहाँले रचना गरेको नगरगान छनौट भई कार्यान्वयनमा आएको छ । पालिकाहरुको गौरवशाली इतिहास, अनुपम भौगोलिक बनावट, समृद्ध सांस्कृतिक धरोहर, मौलिक कला संस्कृति तथा सामाजिक विविधतालाई उजागर गरी रचना गर्नुभएका नगरगान छनौट हुँदा आफ्नो सदस्यका हिसावले युनियनले समेत गौरव गर्ने इतिहार बनेकाले उहाँलाई सम्मान गरिएको नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले बताउनु भयो ।
उहाँलाई नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोखरेल, युनियन रुपन्देहीका अध्यक्ष नेपाल तथा पूर्वअध्यक्षहरुले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । तालिमको समापन तथा सम्मान समारोहमा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एकठाउ र निर्भिक भएर उभिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरुले सधै आलोचनात्मक चेत बोकेर काम गरिरहनुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियनको सम्मानले आफुलाइ अझै जिम्मेबारी थप गरेको बताउँदै सर्जक पाण्डेले कलम चलाउने कामलाई अझै तीब्रताका साथमा अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य तथा युनियनका पूर्वअध्यक्ष रामराज पोखरेल, प्रेस युनियनका केन्द्रीय सदस्य रेखा भुसाल, सल्लाहकार माधव नेपाल, पूर्वअध्यक्ष खिमानन्द भट्टराई, हरिष ढकाल, भवानीप्रसाद पाण्डे, पूर्व केन्द्रीय सदस्य बिष्णु भुसाल लगायतले अनुभव सहित तालिममा सहजिकरण गर्नुभएको थियो ।
प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिमको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुधबार उद्घाटन गर्नुभएको थियो । तालिममा प्रेस युयिनयनमा आवद्ध १५० बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो । युनियन रुपन्देहीकी उपाध्यक्ष कल्पना तिवारीको संयोजकत्वमा भएको तालिम कार्यक्रम सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।