नेपाल भित्रिएको लामो समयपछि मनसुनी प्रणाली कोशी प्रदेशबाट पश्चिम तर्फ विकसित हुँदै गएको छ । जल तथा मौषम विज्ञान विभाग, मौषम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार साँझ कोशी प्रदेशको बाँकी भुभाग हुँदै मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको पुर्वी भू–भागसम्म मनसुनी प्रणाली विकसित भएको छ ।
नेपालमा यो वर्ष मनसुन सरदर मिति भन्दा १५ दिन अगावै १५ जेठमा नेपालको पूर्वी भू–भागबाट नेपाल प्रवेश गरेको थियो । महाशाखाका अनुसार नेपालका बाँकी भू–भागमा मनसुन फैलिन अझै केही दिन लाग्नसक्ने सम्भावना छ । मनसुनी प्रणाली विकसित भएका भू–भागमा वर्षाको सम्भावना देखिएको छ ।
आज शुक्रबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । भने देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौषम पुर्वानुमान महाशाखाले जनाएको छ ।