६ महिनामा ७३ जिल्लामा फैलियो डेंगु

1.3K

६ महिनामा ७३ जिल्लामा फैलियो डेंगु

लामखुट्टेको टोकाईबाट सर्ने डेंगु ६ महिनामा ७३ जिल्लामा फैलिएको छ । गएको जनवरी यता १ हजार ४०३ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता ६ महिनामा रसुवा, मनाङ, हुम्ला र डोल्पा बाहेकका ७३ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको हो ।
त्यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ३७१ जना, कोशीमा २९९, गण्डकीमा २५१, लुम्बिनीमा २४५, सुदूरपश्चिममा १८४ जना, कर्णालीमा ३२ जना र मधेशमा २१ जनामा डेंगु संक्रमण पुष्टी भएको हो । त्यसैगरी जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा १५६ जना संक्रमित भएका छन् ।
नेपालमा २०६०÷६१ म पहिलो पटक एक जनामा डेंगुको संक्रमण भेटिएको थियो । त्यसयता नेपालमा निरन्तर डेंगुको संक्रमण देखा परेको छ भने सन् २०१९ मा महामारीकै रुपमा फैलिएको थियो । डेंगु संक्रमका कारण धेरैजनाले ज्यान पनि गुमाउनु परेको छ ।
डेंगु एडिस एजिप्टाई र एडिस अल्बोपिक्टस जातका संक्रमित लामखुट्टेको टाकाईबाट सर्दछ । यी जातका लामखुट्टे टाटेपाटे हुनेभएकाले टाईगर लामखुट्टे पनि भनिन्छ । बिहान सुर्योदय र बेलुकी सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुन्छ । उच्च ज्वरो आउने, टाउको, घाँटी, आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने डेंगुका प्रमुख लक्षण हुन् ।
संक्रमण फैलिन थालेपछि सबै स्थानीय तहलाई ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउन पत्राचार भइसकेको छ । त्यसैअनुसार स्थानीय तहहरुले पनि अभियान सञ्चालन गर्न सुरु गरिसकेका छन् ।