एसईई परीक्षाको नतिजा सार्वजनिक : परिणाम अघिल्लो वर्षभन्दा सुधार

1.3K

एसईई परीक्षाको नतिजा सार्वजनिक : परिणाम अघिल्लो वर्षभन्दा सुधार

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठक पछि कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।
एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ छ । त्यस्तै ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।

गतवर्षभन्दा सुधार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षभन्दा सुधार भएको छ । अघिल्लो वर्षको परीक्षामा ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ ।

मौका परीक्षा साउन २९ देखि

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने छन् । परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो । एसईईको सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।
त्यसैगरी सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् । गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन् । यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो । अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र ऐक्षिक गणितमा १८ हजार २२२ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।