स्थापना दिवसमा रक्तदान : ५६ युनिट रगत संकलन

1.3K

स्थापना दिवसमा रक्तदान : ५६ युनिट रगत संकलन

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २७ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल नियमित रक्तदाता संघको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको संघका महासचिव तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले जानकारी गराउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले ‘रगत नपाए बुटवल जानु’ भन्ने गरी रक्तदान कार्यक्रम भईरहेको बताउँदै एक घर एक रक्तदाता अभियानका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
त्यस अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले मानिसको जीवनका लागि नभईनहुने रगतको अभाव हुन नदिन र रक्तदान संस्कृतिको सन्देश समेत दिनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो । स्वस्थ्य मानिसको शरीरमा खेर जाने रगतको संकलन तथा भण्डारणले रगतको आवश्यकता पर्ने विरामीको जीवन रक्षा हुने भएकाले रक्तदान संस्कृतिको विकासमा उहाँले जोड दिनुभयो ।

नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार बिमलबहादुर शाक्यले नेपाल रेडक्रस सोसाइटीपछि नियमित रक्तदाता संघ नै दोस्रो ठूलो संस्था भएको उल्लेख गर्दै रक्तदानका क्रममा रक्तसम्बन्धी सम्पूर्ण रोग परीक्षण गरी बिरामीसम्म सुरक्षित रगत पुर्याउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो ।
संघका नवनिर्वाचित अध्यक्ष माधवकुमार खनालको स्वागत तथा उपाध्यक्ष प्रेम भट्टराईको संयोजनमा भएको कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष महेश खनालले प्रत्येक महिनाको तेस्रो शनिबार तथा विभिन्न संघसंस्थासँग समन्वय गरी टोलटोलमा रक्तदान कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनेमा जोड दिनुभयो ।