लुम्बिनी प्रदेशिक अस्पतालको भौतिक प्रगति २६ प्रतिशत : तीन वर्षभित्रै पुरा गर्ने लक्ष्य

1.3K

लुम्बिनी प्रदेशिक अस्पतालको भौतिक प्रगति २६ प्रतिशत : तीन वर्षभित्रै पुरा गर्ने लक्ष्य

लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अंगाडी बढाएको लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधिन भवनको भौतिक प्रगति २६ प्रतिशत पुगेको छ । त्यस्तै वित्तिय प्रगति १६ प्रतिशत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविलाल पोखरेलले बताउनु भयो ।
विक्रम संवत् १९६७ मा स्थापना भएको लुम्बिनी प्रदेशिक अस्पताललाई लुम्बिनी प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रुपमा अगाडी बढाएको छ । जसको मुख्य भवन १० तलाको र २ तहको वेसमेन्ट रहने छ ५ वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०८० पुस २६ मा क्यापासिटी–आशिस रिलिगर जेभिसंग ७ अर्ब १५ करोड ९४ लाख ३७ हजार रुपैंयामा ठेक्का सम्झौता भएको थियो ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार भौतिक प्रगतिको हिसावले सम्झौताको ३ वर्षमै निर्माण पुरा हुनेगरी काम अगाडी बढेको छ । ‘बजेटको कमी नहुने र अरु कुनै प्रकारको अवरोध भएन भने ३ वर्षमै परियोजनाको निर्माण सम्पन्न हुने छ’, उहाँले भन्नुभयो ।
प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रुपमा अगाडी बढाएको यो आयोजनामा १० तला र ४ तलाको २ वटा भवन निर्माण गरिने छ । मुख्य भवन १० तलाको रहने छ । त्यसमा २ तहको वेसमेन्ट हुनेछ । यसमा ७ सय शैया हुनेछ । त्यस्तै अर्को १ सय शैयाको क्यान्सर भवन बन्नेछ । यो क्यान्सर भवन ४ तलाको हुनेछ भने त्यसको वेसमेन्ट १ तहको हुनेछ ।
मुख्य भवनको २ वटा वेसमेन्टमा पार्किङ लगायत सर्भिस कक्षहरु निर्माण गरिने छ । त्यसैगरी भुईतला (ग्राउण्ड फ्लोर)मा ईमर्जेन्सी, फार्मेसी लगायतका आधारभूत सेवाहरु हुनेछन् । पहिलो तलामा ओपिडि र दोस्रो तलामा अपरेशन थिएटर हुनेछ भने त्यसमाथिका तलाहरुमा अन्य सेवाहरु रहनेछन् । यसमा १० वटा लिफ्टको व्यवस्था छ । त्यस्तै टपमा हेलीप्याड हुनेछ । भुईतलाबाट पहिलो तलामा जानको लागि स्केटरको व्यवस्था गरिएको छ ।
त्यस्तै ४ तलाको क्यान्सर भवनमा वेसमेन्टमा बंकर विरामी कक्ष रहनेछ । भुई तलामा डे केयर, पहिलो तलामा ओपिडि र त्यस माथिका तलामा विभिन्न प्रयोजनका बेडहरु राखिने छ । यो भवनमा २ वटा लिफ्ट रहने छन् । प्राधिकरणका साईट ईञ्जिनियर शंकर सुवेदीका अनुसार हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ । त्यसैगरी दोस्रो बेसमेन्टको ढलान सकिएको छ । लेफ्ट विङको पहिलो बेसमेन्टको ढलानका लागि छड बुन्ने कार्य भइरहेको छ । त्यस्तै, क्यान्सर उपचार भवनको ¥याफ्ट फाउण्डेसनको ढलानसमेत पूरा भइसकेको छ । उहाँका अनुसार यो परियोजनामा निर्माण कम्पनीका १० जना विशेष प्राविधिकसहित दैनिक २२० जना कामदार खटिएका छन् । त्यस्तै काठमाडौ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिक सल्ट सेन्टर’बाट प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले डिजाइन र निर्माण सुपरिवेक्षण गरिरहेको छ ।
अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले समयमै योजना सम्पन्न भएमा जनताले थप सहज स्वास्थ्य सेवा पाउने बताउँदै अस्पतालको भवन निर्माणसँगै यसमा प्रयोग हुने उपकरण, जनशक्ति व्यवस्थापन लगायतका विषयमा सरकारले अहिलेदेखि नै तयारी थाल्नुपर्ने धारणा राख्नुभयो ।