पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्वारा २२ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान

1.3K

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्वारा २२ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान

पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले जेहेन्दार विद्यार्थीलाई छावृत्ति वितरण गरेको छ । यातायात व्यवसायी र मजदुरका छोराछोरीलाई छात्रावृत्ति दिनका लागि २०६३ सालमा छात्रावृत्ति अक्षयकोष स्थापना गरिएको थियो । सोही अक्षय कोषमा जम्मा भएको व्याजबाट समितिले २२ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको हो ।
समितिले शनिबार कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखांची स्याङजा, कपिलवस्तु, नवलपरासीका विभिन्न स्कुलमा अध्ययनरत २२ जना विद्यार्थीलाई नगद १० हजारका दरले छात्रावृद्वि प्रदान गरेको हो । आर्थिक रुपले कमजोर जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलका अध्यक्ष टिकाराम गौतमले बताउनुभयो । छात्रवृत्तिको सहयोग रकम थोरै भएपनि विद्यार्थीलाई पढ्नका लागि केही सहयोग मिल्ने र अभिभावक, विद्यार्थीमा हौसला बढाउने भएकाले प्रत्येक वर्ष छात्रावृत्ति प्रदान गर्दै आएको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली कांगे्रस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क गराउनु पर्ने बताउनु भयो । उहांले संविधानले शिक्षा, स्वास्थ्यलाई मौलिक हकमा राखेकाले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने र यो विषयमा लुम्बिनी प्रदेश सरकारमा कुरा उठाउने बताउनुभयो । लुम्बिनी प्रदेशले कमाउदै पढ्दै गर्ने नारासहित नीति तथा कार्यक्रम ल्याएको र शिक्षामा लगानी बढाएको उहाँले बताउनुभयो ।
नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख महेन्द्र खड्काले हरेक सामाजिक संघसंस्थाहरु समाजप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहांले यातायात क्षेत्रमा आफ्ना समस्याहरु थुप्रै हुंदाहुदै पनि विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेर छात्रावृत्ति प्रदान गर्ने कार्यको प्रशंसा गर्दै यसबाट थुप्रै विद्यार्थीले लाभ लिएको बताउनुभयो । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भनेपनि व्यवहारमा त्यस्तो हुन नसकेको बताउंदै सबै विद्यार्थी शिक्षाको पहुंचमा पुग्नु पर्नेमा जोड दिनुभयो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शिक्षा विनाको मानिस बादलमा हराएको काग जस्तै हुने भएकाले विद्यार्थीलाई शिक्षाको पहुंचमा पुराउन यो छात्रावृत्तिले सहयोग पुराउने बताउनुभयो । शिक्षासंगै स्वास्थ्यलाई पनि महत्व दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष तथा छात्रावृत्ति अक्षयकोष संरक्षक अर्जुन रानाभाटले आर्थिक अवस्था कमजोर भएकै कारण कुनैपनि यायातात व्यवसायी र मजदुरका छोराछोरी पढनबाट बन्चित हुन नपरोस भनेर २०६३ सालमा छात्रावृत्ति अक्षयकोष स्थापना गरिएको जानकारी गराउनु भयो । उहांले शुरुमा अक्षयकोष थोरै भएपनि समयक्रममा बढ्दै गएपछि वार्षिक रुपमा छात्रावृत्ति प्रदान गर्ने गरिएको बताउनुभयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठले १० टन क्षमता थाम्ने सडकहरुमा ४० टन क्षमता भएका गाडिहरु गुडाउंदा सडक र पुलहरु भत्किएकाले अबको केही वर्षमा नेपालका सडकहरुको अवस्था झनै कमजोर हुने भएकाले यस विषयमा राज्यलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, रैनादेवी छहरा कालिका माध्यमिक विद्यालय पाल्पाका अध्यक्ष जुद्धबहादुर कार्की लगायतले बोल्नुभएको थियो । कार्यक्रम समितिका महासचिव खिमबहादुर थापाको सञ्चालनमा भएको थियो ।