तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ सञ्चालन गर्न अनुमति

1.3K

तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ सञ्चालन गर्न अनुमति

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रमका लागि ४०÷४० जनाको कोटा समेत निर्धारण गरेको छ । सिटिइभिटीको पत्र प्राप्त भएसँगै अब पूर्वाधार निर्माण र अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।
ती कार्यक्रम सञ्चालनको लागि लुम्बिनी प्रादेशिक अस्पताल वा भीम अस्पतालसँग सम्झौता गरिने जनाएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाले आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम र वजेटमै प्राविधिक शिक्षालय संचालनका लागि नीतिगत रुपमा निर्णय गर्दै रकम विनियोजन गरेको बताउनु भयो । नगर प्रमुख खाणले सबैको प्रयत्नले प्राविधिक शिक्षालय सञ्चालनको विषयले सार्थकता पाउनु सबैको लागि खुशी र यस क्षेत्रका लागि गौरवको विषय भएको बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले सिटिइभिटीको निर्णयसँगै तिलोत्तमा नगर क्षेत्रमा प्राविधिक शिक्षाको पहुँच विस्तार हुने विश्वास गर्नुभयो । उहाले पूर्वदेखि बर्तमान नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको पहलकदमीमा यो उपलब्धी भएको सुनाउनु भयो ।
सिटिइभिटीको असार १७ गते बसेको २०९ औं बैठकले तिलोत्तमा नगरपालिकालाई पूर्वाधार निर्माणको लागि मनसाय पत्र दिइ आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार सिटिइभिटीले नगरपालिकालाई पत्र पठाउँदै पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन अनुमति दिएको हो । प्राविधिक शिक्षालय सञ्चालन गर्न तिलोत्तमा नगरपालिकाले २०७७ सालमैं वडा नं. १४ को खैरियामा भवन निर्माण गरिसकेको छ भने फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालनका लागि थप पूर्वाधार बनाउनु पर्नेछ ।
नगरपालिकाको ३ करोड ७७ लाख लगानीमा निर्माण गरेको भवन लामो समय प्रयोगविहीन हुँदा आलोचना हुँदै आएको थियो । साविकको नर्मदेश्वर प्रावि रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधासम्पन्न ३ तले भवन निर्माण गरेको हो ।